०२ माघ २०८१

फेवाताल बचाउन पहल

हरि बास्तोला

९ आश्विन २०७६, बिहीबार १५:२७ मा प्रकाशित

पोखरा, ९ असोज  पर्यटकीय नगरी पोखरास्थित फेवातालमा फैलिएको जलकुम्भी झारले ताललाई कुरुप बनाइरहेका अवस्थामा यसलाई बचाउन बृहत् सरसफाइ अभियान शुरु गरिएको छ । वर्षासँगै विभिन्न खोलाले बगाएर ल्याएको जलकुम्भी र करौँते झारका कारण कुरुप बनेको फेवाताललाई सफा र शुद्ध बनाउने लक्ष्यका साथ अभियान थालिएको हो । फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर जाने बाराहीघाटबाट जलकुम्भी झार निकालेर महानगर प्रमुख मानबहादुर जिसीले अभियानको शुभारम्भ गर्नुभयो । फेवाताल सरसफाई महानगरको प्राथमिकतामा रहेको बताउँदै उहाँले यतिखेर सिरानबाट अध्यधिक जलकुम्भी झार आएर तालको भू–भाग ढाकेपछि बृहत् अभियान शुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा यही १३ गतेसम्मको कार्यक्रम तयार भइसकेको छ । प्रत्येक दिन बिहान ७ देखि ९ बजेसम्म जलकुम्भी झिकिने योजना छ । अभियानमा सुरक्षा निकाय, जनप्रतिनिधि एवं कर्मचारी, पर्यटन व्यवसायी,डुङ्गा व्यवसायी, नागरिक समाजसहित ४०० को सहभागिता थियो । पोखरा महानगरपालिकाद्वारा सञ्चालित तालबाट झार झिक्ने अत्याधुनिक मेसिनसहित दुई वटा जेसिभी प्रयोग गरि ३० टनभन्दा बढी जलकुम्भी झार निकालिएको जलकुम्भी झार सरसफाइ समितिका संयोजक पुण्य पौडेलले जानकारी दिनुभयो । तालबाट जलकुम्भी झारलाई निकालेर सफा बनाउने अभियानमा सहभागी बन्न पोखरेलीलाई आह्वान गर्दै उहाँले सबैको सहयोगबाट नै ताल सुन्दर र कञ्चन बन्ने विश्वास व्यक्त गर्नुभयो । हिउँदको फागुन, चैत र वैशाख महीनामा जलकुम्भी झारको उर्वरस्थान विभिन्न खोलाका मुहानमा नै नष्ट गरी तालको सफाइमा उचित ध्यान दिइने उहाँको भनाइ छ । पोखरा महानगरपालिका वडा नं ६ बैदामका स्थानीयवासी एवं फेवा डुङ्गा व्यावसायिक समितिका सदस्य ७० वर्षीय वेदनिधि पहारीका अनुसार तालमा यसअघि यति धेरै जलकुम्भी आएको थिएन । फेवातालमा पैmलिएको जलकुम्भी झार निकाल्न र ताललाई बाह्रै महीना सफा र सुन्दर राख्न विभिन्न आठ वटा डुङ्गाघाट र जलाहारी समुदायलाई परिचालन गरी स्थायी समाधान खोजिनुपर्नेमा उहाँको जोड छ । अभियानअन्तर्गत आज बाराही घाटभन्दा उत्तरपट्टिको क्षेत्रमा बृहत् सरसफाइ कार्यक्रममा एक सयभन्दा बढी डुङ्गा परिचालन गरिएको फेवा डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बुद्धिबहादुर नेपालीले जानकारी दिनुभयो । फेवाताल सरसफाइमा हेभी इक्युमेन्ट व्यवसायी सङ्घ कास्की र विसिसी कन्ट्रक्सनद्वारा दैनिक दुई वटा जेसिभी उपलब्ध गराएको सङ्घका अध्यक्ष निश्चल पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, उपपमुख मञ्जुदेवी गुरुङ, विभिन्न वडाको वडाध्यक्ष एवं सदस्य, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, नागरिक समाज र वृटिश, भारत, सिङ्गापुरमा भर्ती हुनका लागि तयारी गरिरहेको युवाको उल्येख्य सहभागिता रहेको थियो । फेवाताललाई जलकुम्भी झारले ढपक्कै ढाकेपछि पोखरा महानगरपालिकाको आह्वानमा मङ्गलबार बसेको आकस्मिक बैठकले तीनवटै सुरक्षा निकाय, पर्यटन व्यवसायी, फेवा डुङ्गा व्यवसायी, नागरिक समाजसहित विभिन्न सङ्घसंस्थाको सहभागितामा ताल सरसफाइ गर्ने निर्णय गरेको हो । नेपालमा कृषि र ग्रामीण क्षेत्रमा काम गरिरहेको जापानी संस्था जाइकाले विसं २०६३ र २०६४ मा फेवातालको अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो । जाइकाको प्रतिवेदनमा युरिया र अन्य रासायनिक मलका कारण फेवातालमा जलकुम्भी फैलिएको उल्लेख छ । प्रतिवेदनका अनुसार ताल वरिपरिको खेतीमा रासायनिक मलको प्रयोग, तालमा मिसिने ढल, तालमा हुने फोहर, तालको मुहानमा हुने भू–क्षयका कारण फेवातालमा जलकुम्भी बढेको हो । फेवातालमा ४० वर्षअघिदेखि देखिएको जलकुम्भी झार नियन्त्रण गर्न तालका अन्य वनस्पति र जीवजन्तुको प्रजनन नबिगार्ने गरी यसको व्यवस्थापन हुनुपर्ने विज्ञको धारणा छ । झारलाई यसै पुर्ने वा फाल्नेभन्दा पनि ताल क्षेत्रबाट कम्तीमा तीन किलोमिटर पर लगी जलाएर नष्ट गरिनुपर्ने विज्ञ बताउँछन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter