०२ माघ २०८१

प्रविधिसँग जोडिँदै महेन्द्र र चमेरे गुफा

८ आश्विन २०७६, बुधबार १०:५० मा प्रकाशित

चिप्लेढुङ्गा, ८ असोज  प्रविधिसँग शहरलाई जोड्ने क्रमसँगै पोखराको पर्यटकीय क्षेत्र महेन्द्र गुफा तथा चमेरे गुफामा निःशुल्क वाइफाइ सेवा शुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने उक्त गुफा घुम्न आउने पर्यटकको सहजताका लागि वाइफाइ सुविधा राखिएको महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक गुरुदत्त भट्टराईले जानकारी दिनुभयो । विन्ध्यवासिनी माविको संरक्षण तथा स्वामित्वमा रहेका दुवै गुफामा सेवा शुरु गरेको उहाँले बताउनुभयो । पोखरा महानगरपालिका–१६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले वाइफाइ सेवाले गुफा क्षेत्रको थप प्रचार हुने र बढीभन्दा बढी पर्यटकका बीचमा पुग्न सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले गुफाको गुरुयोजनालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै थप आर्कषण बढाउन सके पर्यटकको सङ्ख्यामा वृद्घि हुने धारणा राख्नुभयो । गुरुयोजना निर्माण उपसमितिका सल्लाहकार उदयबहादुर बस्नेतले पर्यटकीयस्थलमा प्रविधिको प्रयोग आवश्यक हुने बताउनुभयो । प्रविधिमैत्री वातावरणले नै पर्यटकलाई आकर्षण गर्ने उहाँको भनाइ थियो । गुरुयोजना निर्माण उपसमितिका सल्लाहाकार सुशील वस्नेतले प्रविधिमार्फत गुफा क्षेत्रको प्रचारप्रसार हुने विश्वास व्यक्त गर्नुभयो । समितिले गुफा क्षेत्रको गतिविधिलाई व्यवस्थित र सुरक्षित बनाउन यसअघि नै सिसी क्यामेरा जडान गरिसकेको अप्रेशन म्यानेजर शिशिर पौडेलले जानकारी दिनुभयो । वाइफाइ सेवा शुरु भएसँगै अब गुफा घुम्न आउने आन्तरिक तथा बाहृय पर्यटकले तत्स्थानबाटै फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेर गुफाको प्रचारप्रसार गर्न सक्ने उहाँको भनाइ थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter