०३ माघ २०८१

गल्ती गरेका कोही उम्कन पाउँदैनन् ः मन्त्री ढकाल

१ आश्विन २०७६, बुधबार १५:३० मा प्रकाशित

काठमाडौँ, १ असोज  कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले गल्ती गरेका कोही नउम्कनेमा विश्वस्त हुन सांसदलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको बैठक प्रारम्भ हुने बित्तिकै आज बाँके घटनाको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदहरुले उठेर विरोध जनाई सरकारका तर्फबाट जवाफको माग गर्नुभएपछि कानूनमन्त्री ढकालले घटनाका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभएको हो । यस सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेताहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएअनुसार नै कारवाहीको प्रक्रिया अघि बढ्ने मन्त्री ढकालले स्पष्ट पार्नुभयो । बैठकको प्रारम्भमा काङ्ग्रेसका दिलेन्द्रप्रसाद बडूले सरकारद्वारा संरक्षित समूहले काङ्ग्रेसका बाँके सभापति किरण कोइरालाको हात भाँचेको भन्दै राजनीतिकरण गर्दा सत्य मर्दछ भन्नेमा सचेत हुन ध्यानाकर्षण गराउनुभएको थियो । सांसदबाटै जवाफ आउँदा सरकारले लुकाउन खोजेको देखिएकाले सरकारका तर्फबाट जवाफ आउनुपर्ने उहाँले माग गर्नुभएको थियो । निवेदन दर्ता भए पनि कुनै व्यक्ति नसमातिएको र दोषीले धम्की दिँदै हिँडिरहेकोले सरकारले गम्भीरतापूर्वक लिनुपर्ने सांसद बडूको भनाइ थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter