गलकोट, १ असोज आफ्ना स्व पिताको सम्झनामा बागलुङको ढोरपाटन नगरपालिकाका एक व्यक्तिले ज्येष्ठ नागरिक मञ्च बुर्तिवाङको भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । ढोरपाटन नगरपालिका–२ घर भई बुर्तिवाङ बजारमा दुग्ध व्यवसाय सञ्चालन गर्दै आउनुभएका व्यवसायी कृष्ण खनालले आफ्ना स्व पिता घनलाल खनालको सम्झनामा निःशुल्क जग्गा उपलब्ध गराउनुभएको हो । खनालले बुर्तिबाङ बजारको फूलबारी टोल र सेराजाने झोलुङ्गे पुलको नजिकै रहेको १२ आना जग्गा ज्येष्ठ नागरिक मञ्चलाई प्रदान गरेको बताउनुभयो । नयाँ पुस्तामा धार्मिक संस्कार हराउँदै गइरहेको अवस्थामा असल संस्कारको विकास गर्न आफूले उक्त जग्गा ज्येष्ठ नागरिक मञ्चलाई उपलब्ध गराएको बताउनुभयो । खनालले ज्येष्ठ नागरिकको आश्रयस्थलका रुपमा निर्माण गर्नका लागि सहयोग गर्न पाउँदा निकै खुशी भएको बताउनुभयो । वृद्ध वृद्धाहरु पसिना पुछ्दै भारी बोकेर बुर्तिवाङ बजारमा हिँडेको देख्दा ज्येष्ठ नागरिक मञ्चको नाममा आश्रयस्थल निर्माण गर्न सहयोग गर्ने सोचमा पुगेको उहाँको भनाइ छ । खनालले लामो समयदेखि बुर्तिवाङ बजारमा कृष्ण दुग्ध उद्योग तथा मिष्ठान्न भण्डार सञ्चालन गर्दै आउनुभएको छ । खनालले लाखौँ पर्ने जग्गा निःशुल्क दान गर्नु महान कार्य भएको नगर प्रमुख देवकुमार नेपालीले बताउनुभयो । उहाँले जग्ग प्राप्ति भइसकेपछि ज्येष्ठ नागरिकको भवन निर्माणका लागि नगरपालिकाबाट आगामी वर्ष बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । निःशुल्क प्राप्त भएको जग्गामा भवन निर्माण गर्न लागिपर्ने ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष चन्द्रकान्त आचार्यले बताउनुभयो । जिल्लाको दोस्रो व्यापारिक शहरका रुपमा रहेको बुर्तिवाङ बजारमा जग्गाको मूल्य निकै महङ्गो छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू