१९ फागुन २०८१

लागुऔषधका ५५४ कारोवारी पक्राउ

१ आश्विन २०७६, बुधबार १०:५९ मा प्रकाशित

भद्रपुर, १ असोज    विगत तीन वर्षमा झापामा लागुऔषधको ओसारपसारविरुद्ध प्रहरी कारवाहीमा ५५४ पक्राउ परेका छन् । भारतसँगको खुला सीमा र लागुपदार्थ प्रयोगकर्ताको फैलँदो सङ्ख्याका कारण यसको नियन्त्रण झापामा चुनौतीपूर्ण बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आव २०७३÷७४ मा १६५, आव २०७४÷७५ मा १८९ र आव २०७५÷७६ मा २०० लागुऔषधको कारोवार गरेको अभियोगमा पक्राउ परेका छन् । पक्राउ परेका ५५४ मध्ये २४ विदेशी नागरिक थिए । तीन वर्षमा लागुऔषधसम्बन्धी ३५४ मुद्दा प्रहरीमा दर्ता भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश मैनालीले लागुऔषध नियन्त्रणका लागि विशेष अभियान चलाइएको जनाउँदै आव २०७५÷७६ मा प्रहरीले १९ किलो चरेस, दुई किलो गाँजा र ७६८ ग्राम ब्राउन सुगर बरामद गरेको जानकारी दिनुभयो । सीमावर्ती काँकरभिट्टा, भद्रपुर, गौरीगञ्ज र टाघनडुब्बा क्षेत्रमा प्रहरीले भारतीय सीमापारिबाट हुनसक्ने लागुऔषधको कारोवारलाई सुक्ष्म निगरानी राख्न थालेपछि हाल कारोवारी धमाधम पक्राउ पर्न थालेका प्रहरी उपरीक्षक मैनाली बताउनुहुन्छ । प्रहरीले विद्यालयमा पुगी लागुऔषधबाट बच्न विद्यार्थीलाई आग्रह गर्दै सचेतना कक्षा सञ्चालन गरिरहेको छ । विभिन्न विद्यालयमा प्रदेश सरकारको अभियानअन्तर्गत सगरमाथा टिन्स क्लब गठन कार्यसमेत तीव्ररूपमा अघि बढाइएको छ । अभियानले पनि लागुऔषधलाई निरुत्साहित गर्ने बताइएको छ । “विगतमा सामान बरामद हुने तर अभियुक्त पक्राउ नपर्ने गरेको देखिएको छ”, प्रहरी उपरीक्षक मैनालीले भन्नुभयो, “यसपटक हामीले सामान बरामदसँगै अभियुक्तलाई फुत्किन नदिने अभियान चलाएका छौँ ।”

तपाईंको प्रतिकृयाहरू

प्रदेश १

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter