०२ माघ २०८१

बाँदर आतङ्कले खेतबारी बाँझै

२६ भाद्र २०७६, बिहीबार १३:५७ मा प्रकाशित

बैतडी, २६ भदौ  बैतडी सदरमुकाम क्षेत्रमा विगत केही वर्षदेखि बाँदरले आतङ्क फैलाउँदै आएको छ । खेतबारीमा काम गर्ने महिला तथा विद्यालय जाने बालबालिकालाई आक्रमण गरी घाइते बनाउने बनाउनाका साथै खेतबारीमा लगाएको अन्नबाली, फलफूल र घरभित्र पकाएर राखेको खानासमेत बाँदरले खाने गरेको छ । दशरथचन्द नगरपालिकाले वडा नं ४, ५, ६, ७ र ८ मा बाँदरले विगत केही वर्षदेखि आतङ्क मच्चाएकाले त्यसको व्यवस्थापनका लागि रु १० लाख छुट्याएको छ । बाँदरलगायत अन्य जङ्गली जनावर व्यवस्थापन गर्न उक्त रकम विनियोजन गरिएको वडा नं ५ का अध्यक्ष नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । बाटोमा हिँड्दासमेत महिला तथा बालबालिकालाई बाँदरले आक्रमण गर्दै आएको र गत साउनमा तीन जनालाई बाँदरले टोकेकाले उनीहरूलाई रेविजविरुद्धको सुईसमेत दिइएको उहाँले बताउनुभयो । जङ्गली जनावर व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय र नगरपालिकाले केही दिनभित्रै ठोस निर्णय गर्ने जनाइएको छ । बाँदर नियन्त्रणका लागि उक्त नगरपालिकाले विगतका वर्षमा पनि बजेट विनियोजन गर्दै आएको थियो । खेतीयोग्य जमीन बाँझै सदरमुकाम क्षेत्रमा केही वर्षदेखि बाँदरले आतङ्क फैलाउन थालेकाले विगत पाँच वर्षदेखि यहाँका बासिन्दाले खेतीयोग्य जमीनसमेत बाँझै छाड्दै आएका सोही नगरपालिका निवासी तेजप्रकाश भट्टले जानकारी दिनुभयो । बाँदरको दुःख खप्न नसकेर बसाइँ सर्नुपर्ने अवस्थासमेत सिर्जना भएको अर्का स्थानीयवासी पार्वती चन्दले बताउनुभयो । सोही नगरपालिका वडा नं ५ का डम्बर टमाटाले घरको खानेकुरा सुरक्षाका लागि एक जनाले दिनभर बाँदरका लागि घर कुरुवा बस्नुपरेको गुनासो गर्नुभयो । लाखौँको सुन्तला फल्ने यो मौसममा अहिले रुखमा एक दान सुन्तला देख्न पनि मुस्किल भएको उहाँको भनाइ थियो । योजना सफल भएन बाँदरको आतङ्क बढेपछि उक्त नगरपालिकाले गत वर्ष पनि बाँदर धपाउने अभियान शुरु गरेकामा निस्फल भएको वडाध्यक्ष भट्टले बताउनुभयो । बाँदर विशेषज्ञ ल्याएर बाँदर धपाइए पनि फेरि गाउँमै बाँदर फर्केर आएका छन् । उक्त नगरपालिकाले तयार पारेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन योजनामा बाँदर आतङ्कलाई पहिलो प्रकोपका रुपमा राखिएको छ । नगरवासीले पटकपटक गुनासो गर्दै आएपछि बाँदर धपाउने अभियान सञ्चालन गरिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले बताउनुभयो । मोहनबहादुर चन्दको नेतृत्वमा बाँदर धपाउने टोलीमा सहभागी स्थानीयवासी विद्यार्थी, महिलालगायत सरोकारवालाले गुलेली, लाठी ढुङ्गा बोकेर बाँदर अभियाननै चलाएपनि सफल नभएपछि प्रभावित वडाका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने पीडितहरूले माग गर्दै आएका छन् । भारतको कोशी तथा वराणासीबाट ट्रक ल्याएर महाकाली नदीमा बाँदर छोडिएकाले जिल्ला सदरमुकाममा यसको आतङ्क बढेको स्थानीय बासिन्दाको भनाइ थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter