दमौली, २६ भदौ वैदेशिक रोजगारीमा कतार पुगेका तनहुँवासीको संस्था रिसिङ प्रवासी युवा समाज दोहा कतारले अर्बुद्ध रोगबाट पीडित व्यास नगरपालिका–१ भादगाउँ निवासी दिलप्रसाद आलेलाई रु एक लाख ६०० आर्थिक सहयोग गरेको छ । लामो समयदेखि अर्बुद्ध रोगबाट पीडित भई उपचार गराइरहनुभएका आलेलाई सहयोग गर्न समाजले कतारमा आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरेको थियो । सोही अभियानबाट सङ्कलित उक्त रकम समाजका अध्यक्ष टीकाराम आलेमार्फत संस्थापक अध्यक्ष कविराज श्रेष्ठले पीडित आलेलाई हस्तान्तरण गर्नुभएको छ । सामाजिक काम गर्ने उद्देश्यसहित गठन भएको संस्थामार्फत जिल्लावासीलाई सहयोग गर्न पाउँदा खुशी लागेको अध्यक्ष आलेको भनाइ छ । “समाजले दुःखमा परेका र बिरामी भई उपचाररत रहेका अन्य व्यक्तिलाई पनि सहयोग गरिरहेको छ”, उहाँले भन्नुभयो, “कतारमै दुःख परेका नेपालीलाई समेत सहयोग गर्ने काम समाजले गरेको छ ।” यसैगरी भीमाद नगरपालिका–९ मोहोरिया निवासी अर्बुद्ध रोगपीडित विष्णुमाया थापाको उपचारार्थ सहयोग गर्ने उद्देश्यले कतारबाट आर्थिक सहयोग प्राप्त भएको छ । रोजगारीको क्रममा कतारमा कार्यरत भीमाद नगरपालिका–९ सखेपका कमल गुरुङ, पाथर्दीका अर्जुन थापा, गणेशपुरका श्रीराम शाही, लोकेन्द्र शाहीलगायतको पहलमा त्यहाँका नेपालीबाट सङ्कलित रु ४६ हजार पीडितलाई प्रदान गरिएको छ । उक्त रकम भीमाद नगरपालिका–९ का कार्यवाहक अध्यक्ष बाबुराम रानाको रोहवरमा पीडितका श्रीमान् झमकलाल थापालाई प्रदान गरिएको छ । मानहुँकोटमा सरसफाइ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गइरहेको व्यास नगरपालिका–५ मानहुँकोटमा सरसफाइ गरिएको छ । पर्यटकको आगमन बढ्न थालेसँगै फोहर पनि बढेपछि मिस क्विनका प्रतिस्पर्धीले मानहुँकोटमा सरसफाइ गरेका हुन् । व्यास नगरपालिका–५ को समन्वयमा गरिएको सरसफाइ कार्यक्रममा मिस क्विनका १५ भन्दा बढी प्रतिस्पर्धी सहभागी रहेको आयोजक संस्थाकी सरिता गरन्जा मगरले जानकारी दिनुभयो । सहभागीले मानहुँकोटमा यत्रतत्र फालिएका बोत्तल, प्लाष्टिकलगायत सङ्कलन गरेका थिए । मगरका अनुसार सरसफाइबाट १० बोरा फोहर सङ्कलन भएको छ । व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गइरहेको मानहुँमा सरसफाइको पाटोलाई विशेष ध्यान दिइने बताउनुभयो । “मानहुँकोट आन्तरिक पर्यटकको गन्तव्यको रुपमा विकास हुँदै गइरहेको छ”, उहाँले भन्नुभयो, “दिनप्रतिदिन पर्यटकको आगमन बढेसँगै फोहर पनि हुन थालेको छ । फोहर व्यवस्थित गर्नका लागि वडा कार्यालयमार्फत पहल गर्छौ ।” सरकारले घोषणा गरेको पर्यटन वर्षलाई मानहुँकोटले सहयोग पु¥याउने श्रेष्ठको भनाइ छ । श्रेष्ठका अनुसार मानहुँकोटमा पर्यटक आवागमन बढाउन पूर्वाधार निर्माणलाई जोड दिइएको छ । मानहुँकोटसम्म पुग्ने बाटो कालोपत्रका लागि काम भइरहेको छ भने मानहुँडाँडामा रेलिङ हालिएको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार चापाघाटदेखि अलैचेसम्म पैदलमार्ग निर्माण गरिएको छ । सवारी गुड्ने बाटोका अलवा पैदल हिँडेर मानहुँसम्म पुग्ने पर्यटकलाई लक्षित गरेर अलैचेसम्म पैदलमार्ग निर्माण गरिएको र त्यसलाई विस्तार गर्दै मानहुँसम्म पु¥याउने लक्ष्य रहेको छ । मानहुँकोटबाट दमौली बजार छर्लङ्ग देखिन्छ । यसले गर्दा पछिल्लो समयमा यहाँ पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । मानहुँकोटबाट माछापुच्छ«े, अन्नपूर्णलगायतका हिमशृङ्खला साथै सदरमुकाम दमौली बजार, मादी नदी, साँगेखोला, तनहुँ जलविद्युत्को ड्याम निर्माणस्थल एवं मनोरम दृश्यहरु देख्न सकिन्छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू