काठमाडौँ, २४ भदौ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीले आज शिष्टाचार भेट गर्नुभएको छ । भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय पारस्परिक हित, चासो तथा चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली काङ्ग्रेसबीचको सम्बन्धलगायत विषयमा विचारविमर्श भएको भेटमा सहभागी सभापति देउवाका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले राससलाई जानकारी दिनुभयो । सो अवसरमा सभापति देउवाले यसप्रकारको भेटघाटले द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने बताउँदै चीनले नेपालको पूर्वाधारलगायत क्षेत्रमा गरेको सहयोगको प्रशंसा गर्दै निरन्तरताको अपेक्षा गर्नुभएको थियो । साथै उहाँले एक चीन नीतिप्रति नेपाल सधैँ अडिग रहेको र नेपालको भू–भाग छिमेकीविरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता दोहो¥याउनुभएको थियो । सभापति देउवाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बारेमा चासो राख्नुभएको थियो । विदेशमन्त्री वाङले उपयुक्त समयमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुने र जानकारी दिनुभएको परराष्ट्र सल्लाहकार भट्टराईले बताउनुभयो । सो भेटमा काङ्गे्रसका तर्फबाट सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि सहभागी हुनुहुन्थ्यो भने विदेशमन्त्री वाङ्सँगै चिनियाँ प्रतिनिधिमण्डलका सदस्य सहभागी हुनुहुन्थ्यो । विदेशमन्त्री वाङ नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा आइतबार यहाँ आइपुग्नुभएको हो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू