०५ माघ २०८१

तेमालमा १५ मुद्दाको फैसला

२४ भाद्र २०७६, मंगलवार १२:५४ मा प्रकाशित

बनेपा, २४ भदौ  तेमाल गाउँपालिकाको न्यायिक समितिमा दर्ता भएकामध्ये १५ मुद्दाको फैसला भएको छ । गएको दुई आर्थिक वर्षमा करीब २३ मुद्दा दर्ता भएकामा बाँकी जिल्लामा सिफारिश गरिएको पालिका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक दुर्गामाया तामाङले बताउनुभयो । उहाँका अनुसार न्यायिक समितिमा आउनुभन्दा अगाडि जिल्ला प्रशासन कार्यालसम्म पुगिसकेको, न्यायिक समितिमा दर्ता गर्ने र जिल्ला प्रशासन र जिल्ला अदालतमा दर्ता गरिसकेको मद्दा नहेरीकन जिल्ला अदालत नै सिफारिश गर्ने गरेको उहाँले बताउनुभयो । जनताको समस्या गाउँपालिकाको तर्फबाट समाधान गर्न पाउँदा धेरै खुशी लागेको उहाँको भनाइ थियो । गाउँपालिकाको उपाध्यक्ष तथा स्थानीय तहमा गठित न्यायिक समितिका संयोजकसमेत रहनुभएका उहाँले नौ वटा विषयमा संयोजकको काम गर्नुपरेको छ । उहाँका अनुसार न्यायिक समितिमा बसेर २८÷३० वर्षको मुद्दासमेत छिनोफानो भएको छ । पारिवारिक सम्बन्ध, छुटिएर बसेको श्रीमान् श्रीमतीको मिलापत्र र दाजुभाइबीचमा २०÷२५ वर्षसम्म नमिलेर बसेको मुद्दा मिलाउन सफल भएको उपाध्यक्ष तामाङले बताउनुभयो । गाउँलिकामा रहेको न्यायिक समितिमा दाजुभाइबीचको अंशबण्डा र साँधसिमाना नमिलेको विषयमा बढीजसो मुद्दा पर्ने गरेको र न्यायिक समितिको समूहबाट मिलाउने काम गरेको उहाँले बताउनुभयो । “मिलाएको मुद्दामध्येमा कतिपय जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतसम्म जान नसक्ने व्यक्तिको न्यायिक समितिबाट मिलापत्र गराउन सफल भएका छौँ”, उहाँले भन्नुभयो, “यसरी मिलाउन सफल हुँदा हामीलाई पनि चित्त बुझेको र उहाँहरु पनि खुशी हुुनुभएको छ ।” कतिपय अवस्थामा वडास्तरमा नै मिलाउने सक्ने खालको छ भने त्यसलाई पनि वडामा नै फर्काउने गरेको उहाँको भनाइ थियो । “हामीले करीब तीन÷चार मुद्दा वडामा नै फर्काएर फैसला गर्न लगाएको अवस्था छ”, उहाँले भन्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter