०२ माघ २०८१

पुल नहुँदा जोखिमपूर्ण यात्रा

२२ भाद्र २०७६, आईतवार १३:३१ मा प्रकाशित

बैतडी, २२ भदौ    बैतडी जिल्लाको दुर्गम सिगास गाउँपालिका–७ न्यौलालीगाड खोलामा पुल नहुँदा स्थानीय बासिन्दालाई समस्या भएको छ । न्यौलालीगाड खोलाको पतलीटाप नजीक पुल नहुँदा उक्त क्षेत्रका नागरिक जोखिमपूर्ण रूपमा खोला तर्न बाध्य भएका छन् । बर्सातको समयमा खोला बढेर आउने हुँदा खोला तर्न निकै समस्या हुने गरेको स्थानीयवासी भोजराज अवस्थीले जानकारी दिनुभयो । खोलामा पुल नहुँदा खोलाको वारिपारि पुग्ने गरी काठ तेस्र्याएर खोला वारपार गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । दैनिक सयभन्दा बढी मानिस वारपार गर्ने उक्त खोलामा पुल नहुँदा जोखिम मोलेर तर्नुपर्ने अवस्था रहेको छ । बालबालिकाले विद्यालयसमेत सोही खोला तरेर जानुपर्ने हुँदा बालबालिकालाई झनै समस्या हुने गरेको छ । यसका साथै दैनिक उपभोग्य सामग्री किन्न बजार जानका लागि तथा वनजङ्गल, घाँसदाउराका लागि पनि सोही खोलाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । न्यौलाली, टोपेड, ओखडगाउ, कपडाइजर, खेतकोट लगायतका ठाउँका बासिन्दा उक्त खोलामा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । न्यौलालीगाड खोलामा झोलुङ्गे पुल निर्माणका लागि स्थानीय सरकारसँग माग गरेको भए पनि कुनै चासो नदिएको त्यस क्षेत्रका बासिन्दाको आरोप रहेको छ । सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले उक्त ठाउँमा पुल निर्माणका लागि सस्पेन्सन ब्रिज डिभिजन कार्यालय डडेल्धुरालाई सिफारिस गरी पठाइएको बताउनुभयो । गाउँपालिकाका अन्य ठाउँमा झोलुङ्गे पुल निर्माण भइरहेकाले यो वर्ष उक्त ठाउँमा पुल निर्माण गर्न नसकिएको भए पनि अगामी वर्ष पुल निर्माण हुने उहाँले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter