११ माघ २०८१

कागेश्वरीमा भक्तजनको भीड

२० भाद्र २०७६, शुक्रबार १३:४४ मा प्रकाशित

काठमाडौँ, २० भदौ  भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्वका अवसरमा आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । कागेश्वरीमा आज आई पूजाआजा एवं दर्शन गरेमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास छ । श्रावण शुक्ल पूर्णिमामा गोसाइँकुण्ड दर्शन गरी आएका भक्तजनले आज यहाँ आएर जल चढाएपछि मात्र व्रत सिद्ध हुने विश्वाससमेत छ । मन्दिरमा २२७ किलोको पित्तललगायत अष्ट धातुबाट बनेको कागको मूर्तिले धार्मिक पर्यटकलाई आकर्षण गर्ने गरेको छ । संविधानसभा सदस्य निर्वाचित हुनुभएपछि पूर्वसभासद् रामेश्वर फुयाँलले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट छुट्याउनुभएको बजेट र कागेश्वरी मनोहरा नगरपालिकाको गरी रु १३ लाखको लागतमा २२७ किलो पित्तललगायत अष्ट धातुबाट यो मूर्ति बनाइएको हो । यो मूर्ति नेपालकै ठूलो कागको मूर्ति हो । नेपालको ठूलो कागको मूर्तिमा पूजा गर्न भक्तजनको भीड लागेको थियो । विसं २०४८ को संसदीय निर्वाचमा यसै निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद एवं तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले संसद्मा बोल्ने क्रममा पनि यो क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिनुपर्ने बताउनुभएको थियो । जननेता भण्डारीको यो विचार ‘संसद्मा मदन भण्डारी’ नामक पुस्तकमा पनि उल्लेख गरिएको छ । नगरपालिकाको ब्रह्मखेल–सातघट्टे–गागलफेदी–शहीद उद्यानसम्मको सडक निर्माणका लागि ३ नं प्रदेश सरकारले रु ३८ करोड बजेट छुट्याएर काम शुरु भएको छ । यो सडकलाई गोसाइँकुण्डसम्म विस्तार गर्ने लक्ष्य रहेको प्रदेशसभा सदस्य फुयाँलले बताउनुभएको छ । कागेश्वरी मन्दिरमाथिको शहीद उद्यानमा एक हजार किलो अष्ट धातुबाट कागको मूर्ति बनाउने अभियान पनि शुरु भएको जनाइएको छ । यसैगरी वसन्तपुरस्थित कागेश्वरी मन्दिरमा पनि बिहानैदेखि कागको पूजा गर्ने भक्तजनको भीड लागेको छ । कागेश्वरी मेलाको अवसरमा यस वर्ष कागेश्वरी मनोहरा नगरपालिकाले तीनदिने महामेलाको आयोजना गरेको छ । मेलाको बिहीबार साहित्यिक गोष्ठी गरी उद्घाटन गरिएको नगरप्रमुख कृष्णहरि थापाले राससलाई जानकारी दिनुभयो । आज मेलामा आउने भक्तजनलाई व्यवस्थापन गरी महत्वका बारेमा बुझाउने कार्यक्रम छ । शनिबार बृहत् सरसफाइ कार्यक्रम आयोजना गरिने छ । मेलाको अवसरमा नगरपालिकाले नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter