०५ माघ २०८१

पूर्वसांसदलाई सम्मान

१९ भाद्र २०७६, बिहीबार १६:१६ मा प्रकाशित

काठमाडौँ, १९ भदौ  पूर्वसांसद मञ्च नेपालले आफ्नो स्थापना दिवसका अवसरमा ७० वर्ष उमेर पुगेका १९ पूर्वसांसदलाई सम्मान गरेको छ ।मञ्चको २०औँ स्थापना दिवसका अवसरमा आज आयोजित सम्मान कार्यक्रममा राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वसांसदहरु शारदा पोखरेल, हीरादत्त भट्ट, तारिणीदत्त चट्टौत, होमबहादुर मल्ल, जुठबहादुर टुहुरे (जेवी टुहुरे), श्रवणकुमार अग्रवालसहित १९ जनालाई सम्मान गर्नुभएको हो । उपाध्यक्ष दाहालले मुलुक सङ्घीयतामा प्रवेश गरेर नयाँ अभ्यास शुरु गरिसकेकाले यसको प्रभावकारिताका लागि पूर्वसांसदको सुझाव र सल्लाह सदैब आवश्यक हुने बताउनुभयो । उहाँले सबैको सहमति लिएर सदनका काम अघि बढाइरहेको र आगामी दिनमा राष्ट्रलाई कसरी अगाडि बढाउने भन्नेबारे सरसल्लाह गरेर नै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही कार्यक्रममा बङ्गलादेशका लागि नवनियुक्त नेपाली राजदूत तथा पूर्वसांसद डा वंशीधर मिश्रलाई सफल कार्यकालको शुभकामना सहित सम्मान गरिएको थियो । उहाँले नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाई देशको हितका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभयो । पूर्वसांसद रानाभाटले संसदीय व्यवस्था प्रभावकारी बनाउनका लागि प्रत्येक ऐन कानून बनाउँदा सम्बन्धित क्षेत्रका सरोकारवालासँग छलफल गर्नुपर्ने र पूर्वसांसदहरुको पनि अनुभव समेटनुपर्नेमा जोड दिनुभयो । मञ्चका कार्यबाहक अध्यक्ष झलकनाथ वाग्लेले मञ्चको स्थापनकाकाल(२०५७ साल)देखि नै २०१५ सालदेखिका सांसदलाई एकीकृत गरेर संसद् र सरकारलाई राष्ट्रको हितका पक्षमा बेलाबेलामा सुझाव दिँदै आइएको जानकारी दिनुभयो । मञ्चले संविधान लेखनका क्रममा संविधानसभालाई पनि सुझाव दिएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter