०९ माघ २०८१

रामपुरमा ‘कपडा बैंक’ ः गरीब, विपन्नलाई सित्तैमा कपडा

१५ भाद्र २०७६, आईतवार १०:५६ मा प्रकाशित

बेझाड, १५ भदौ  गरीब तथा विपन्न वर्गलाई लक्षित गरेर पाल्पाको रामपुरमा ‘कपडा बैंक’ सञ्चालनमा आएको छ । रामपुर युवा क्लबले आर्थिक अवस्था नाजुक भएका व्यक्ति स्वयं उपस्थित भएर आफूलाई चाहिएका कपडा सित्तैमा रोजेर लगाउन मिल्ने गरी ‘कपडा बैंक’ सञ्चालनमा ल्याइएको हो । कपडा बैंकमा महिला र पुरुषले लगाउने विभिन्न कपडा जस्तै ः सारी, चोलो, पेटिकोट, कुर्था सुरुवाल, सल, टिसर्ट, पेन्ट, सर्ट, हाफपेन्टलगायतका तयारी कपडा राखिएको छ । रामपुर युवा क्लबको कार्यालयमा विभिन्न व्यक्तिबाट सङ्कलन भएका कपडा जम्मा गरेर राखिने र इच्छुक व्यक्ति आफैँले गएर रोजेर लैजानसक्ने व्यवस्था मिलाइएको क्लबका सचिव सुन्दर कँडेलले बताउनुभयो । उहाँका अनुसार कपडा वितरण र अभिलेखका लागि एक कर्मचारी खटाइनेछ । कर्मचारी र क्लबसँग सम्पर्क गरेर सित्तैमा कपडा लैजान सकिनेछ । कपडा बैंकमा नयाँ र पुराना, सुकिला र सफा लुगा मात्र सङ्कलन गरिएको छ । गरीब र असहायका लागि सहयोग पुगोस् भनेर कपडा बंैक स्थापना गरिएको क्लबका अध्यक्ष छमबहादुर दरै बताउनुहुन्छ । “विभिन्न भैपरी आउने घटना, विपन्न परिवारलाई राहतस्वरुप रामपुरमा कपडा बैंकको शुरुआत गरेका हौँ”, उहाँले भन्नुभयो । सामाजिक हितका लागि यो कार्य राम्रो रहेकाले नगरपालिकाले सक्दो सहयोग गर्दै जाने र हाललाई नगरपालिकाको तर्फबाट रु ५० हजार सहयोग गर्ने रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो । आपत्विपत परेका, गरीब, विपन्न व्यक्तिका लागि यो कार्यक्रमले सहयोग पुग्ने र उद्योग वाणिज्य सङ्घले पनि यस कार्यक्रम सञ्चालन गर्न सक्दो सहयोग गर्ने रामपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रुद्रनारायण श्रेष्ठले बताउनुभयो । रामपुरका विभिन्न बजारका पसलमा नबिकेका, गोदाम र पसलमा मौसम सकिएर थन्किएका कपडा सङ्कलन गरेर कपडा बैंकमा जम्मा गर्ने व्यापारीले बताएका छन् । घरमा प्रयोग नभएका कपडासमेत खोजीखोजी बैंकमा लगिएको छ । रामपुरमा ‘कपडा बैंक’ स्थापना भएपछि गरीब तथा अति विपन्न परिवारलाई ठूलो राहत पुग्ने देखिएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter