गलेश्वर, १५ भदौ म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले राष्ट्रिय समाचार समिति राससका तीन जना म्याग्दी संवाददातालाई सम्मान गरेको छ । शनिबार म्याग्दीको सदरमुकाम बेनी बजारमा सम्पन्न संस्थाको पाँचौँ साधारणसभा तथा तेस्रो अधिवेशनका अवसरमा रासस गलेश्वर (म्याग्दी) संवाददाता धु्रवसागर शर्मा, बेनी (म्याग्दी) संवाददाता कमल खत्री र (म्याग्दी) का सन्तोष गौतमसहित जिल्लाका सक्रिय पत्रकार र आफ्नो कलेजो काटेर दिइ नौ महीने बालिका सियाना रन्तिजालाई बचाएका म्याग्दीका दानवीर चन्द्रकुमार केसीलाई सम्मान गरिएको हो । दिन जान्यो, बाँच्न जान्यो भन्ने पवित्र मूलमन्त्रसहित म्याग्दी जिल्लाको परोपकारी क्षेत्रमा क्रियाशील ओमकुमारी शान्ति कोषले आर्थिक अभावका कारण उपचार गर्न नसकेका बिरामीलाई आर्थिक सहयोग गर्दै आएको छ । विसं २०७१ मा हाइपोप्लाष्टिक एनिमिया रोगबाट ग्रस्त ओमकुमारी पुन (शान्ति) को उपचारमा आर्थिक सहयोग जुटाउने उद्देश्यले स्थापना भएको यस संस्थाले हालसम्म ९३ जना बिरामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । संस्थाले आर्थिक अभावका कारण कसैले पनि अकालमा नै मृत्युवरण गर्नु नपरोस् भन्ने उद्देश्यले बिरामीलाई सहयोग गर्न डेढ करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने अभियान सञ्चालन गरेको छ । अभियानमा हालसम्म करीब एक करोड रुपैयाँ सङ्कलन भएको ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन सांसद भुपेन्द्रबहादुर थापाले गर्नुभएको थियो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू