म्याग्दी, १४ भदौ मङ्गला र मालिका गाउँपालिकाको सिमाना दुखुखोलामा करीब एक दशकपछि मोटर चल्ने पुल निर्माण भएको छ । बेनी–दरवाङ सडक अन्तर्गत दुखु खोलामा सो पुल निर्माण गर्न नौ वर्ष लागेको हो । गलत डिजाइन र व्यवसायीको ढिलासुस्तीका कारण पुल नबन्दा जोखिम लिएर खोला वारपार गर्नुपर्ने बाध्यता थियो । तत्कालीन जिविस अन्तर्गत सञ्चालित विकेन्द्रित ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) मार्फत २०६७ मा शुरु भएको सो पुलको ढाँचा भएपछि असफल बनेको थियो । पुरानो ठेक्का रद्द गरेर जिविस र प्राविधिक कार्यालयले पुनःसर्वेक्षण गराएर २०७३ मा अर्को ठेक्का सम्झौता गरे । गलत ढाँचालाई कारण देखाएर पुरानो ठेकेदार कम्पनी क्षतिपूर्ति माग्दै अदालत समेत गएको थियो । कूल २२ मिटर लामो पुल निर्माणका लागि २०७३ साउन ९ गते दुई रु करोड २५ लाख ६० हजार ८२३ मा स्वच्छन्द–गौचन जेभीसँग सम्झौता भएको थियो । २०७४ कात्तिकमा सक्ने लक्ष्य भए पनि दुई वर्ष ढिला गरी पुल बनेको हो । पुल तयार पारेर पहुँचमार्ग बनाइ हस्तान्तरणको तयारी गरेको निर्माण कम्पनीका प्रतिनिधि प्रकाश बानियाँले बताउनुभयो । “सङ्घबाट प्रदेशमा आयोजना हस्तान्तरणमा भएको ढिलाइले पुल निर्माण प्रभावित बनेको हो”, बानियाँले भन्नुभयो, “दशै अघिनै पुल सञ्चालनमा आउँछ ।” तत्कालीन जिल्ला प्राविधिक कार्यालयले ठेक्का लगाएको पुल गतवर्ष प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण भएको थियो । पुल बनाउन सम्बन्धित कार्यालय र व्यवसायीलाई पटक–पटक ताकेता र दबाब दिनुपरेको जिसस प्रमुख देवेन्द्र केसीले बताउनुभयो । सवारी साधन र सर्वसाधारण खोलामा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता हट्ने उहाँको विश्वास छ । कूल २४ किलोमिटर दुरीको बेनी–दरवाङ मङ्गला, मालिका, धवलागिरि र बागलुङको तमानखोला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो । बेनीदेखि बाबियाचौरसम्म र लाम्पाटादेखि दरवाङ दुई खण्डमा कालोपत्रेको तयारी भएको पूर्वाधार विकास कार्यालयका वरिष्ठ डिभिजनल इञ्जिनीयर ओमराज ढुङ्गानाले बताउनुभयो । अन्नपूर्ण गाउँपालिका–५ शिखको स्वाँता खोलामा पनि आर्क प्रविधिको मोटरेबल पुल तयार भएको उहाँले बताउनुभयो । पदमार्गले जोडिदै झाँक्रीपानी मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि पर्यटकीयस्थल झाँक्रीपानीलाई पदमार्गले जोडिने भएको छ । गाउँपालिकाले अर्मनको पुलचोकदेखि गहते नेटा हुँदै झाँक्रीपानी जोड्ने छ किलोमिटर पदमार्ग निर्माण गर्न शुरु गरेको छ । पहिलो चरणमा पुलचोकदेखि गहते जोड्ने पदमार्ग निर्माण भइसकेको छ । गाउँपालिकाको रु १३ लाख अनुदान सहयोगमा जङ्गलबीचको भिरालो र उकालो बाटोमा ३३० मिटर पदमार्ग बनाइसकेको उपभोक्ता समितिका सचिव जीतबहादुर किसानले बताउनुभयो । यसवर्ष रु नौ लाख सहयोगमा २३० र गतवर्ष रु चार लाख बजेटबाट १०० मिटर पक्की पदमार्ग बनाइएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा सो पदमार्ग बनाउन रु पाँच लाख विनियोजन गरेको अर्मनका वडाध्यक्ष भुपेन्द्र खत्रीले बताउनुभयो । पदमार्ग बनेपछि आवतजावत र हिँडडुल गर्न सहज भएको गहतेकी उमादेवी सापकोटाले बताउनुभयो । यात्रा सुरक्षित भएको उहाँले बताउनुभयो । पहिले जङ्गलको बिचमा भिरालो र चिप्लो बाटोमा हिँड्दा लडेर दुर्घटनाको जोखिम थियो । बाबियाचौरदेखि झाँक्रीपानी जाने आउने पर्यटकका साथै स्थानीयवासीलाई लक्षित गरेर पदमार्ग बनाइएको हो । ढलान गरेर बनाइएको सिँढीको चौडाइ डेढ मिटर छ । गाउँपालिकाका प्राविधिक नगेन्द्र सापकोटाका अनुसार एक वर्षअघि पदमार्गको सर्वेक्षण गरेर पूर्वाधार बनाउन शुरु गरिएको थियो । पुलचोकदेखि झाँक्रेपानीको दूरी छ किलोमिटर ३६२ मिटर भएको प्राविधिक सापकोटाले बताउनुभयो । पदमार्गको कूल लागत रु तीन करोड २८ लाख रुपैयाँ अनुमान गरिएको छ । बस्तीमा पक्की र बस्ती नभएको ठाउँमा ढुङ्गे सिँढी बनाएर झाँक्रीपानीलाई पदमार्गले जोड्ने गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । अध्यक्ष रोकाले झाँक्रीपानीमा भ्यु टावरसमेत निर्माण गरिसकेको जानकारी दिनुभयो । भ्रमणमा आउने पाहुनाको सुविधाका लागि घरवाससेवा शुरु भएको छ । समुद्री सतहदेखि दुई हजार ५७० मिटर उचाइमा अवस्थित झाँक्रीपानी सदरमुकाम बेनीदेखि गाडीमा दुई घण्टा र एक दिन पैदल हिँडेर पुग्न सकिन्छ । यहाँबाट धौलागिरि, गुर्जा, मानापाथि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रेसहित १६ वटा भन्दा बढी हिमशृङखलाको अवलोकन गर्न सकिन्छ । वरपरका गुराँसको जङ्गल र त्यहाँबाट देखिने म्याग्दीका ३० भन्दा बढी बस्तीको दृश्य अर्को आकर्षण हो । मगर र छन्त्याल समुदायको बसोवास रहेको झाँक्रीपानी गाउँ सांस्कृतिक हिसाबले पनि महत्वपूर्ण छ । परापुर्व कालमा झाँक्रीका भरीयालाई तिर्खा लागेपछि यो डाँडामा आएर लौरो गाड्दा पानीको मुल भेटिएकाले झाँक्रीपानी नाम रहन गएको किम्वदन्ती छ । झाँक्रीपानी नजिकै बाइसे चौबिसे राज्यको पालाको ऐतिहासिक चिनाकोत दरबार पनि छ । झाँक्रीपानी देखि चिनाकोत जोड्ने पदमार्ग पनि बनाइएको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू