बग्दाद, २४ साउन कुवेतलाई कब्जा गर्न भएको इराकी अतिक्रमणका क्रममा इराकमा बेपत्ता पारिएका ४६ जना कुवेती नागरिकको शव बिहीबार कुवेतलाई फिर्ता गरेको छ । उनीहरु सन् १९९१ मा कुवेतमाथि भएको इराकी हस्तक्षेप र अमेरिकी अग्रसरतामा भएको युद्धका क्रममा बेपत्ता भएका थिए । इराकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी इराकी अधिकारीहरुले रेडक्रसको सहयोगमा इराकमा बेपत्ता भएका तर इराकमै मारिएका कुवेतीको अवशेष फिर्ता गरिएको उल्लेख गरेको छ । इराकले बेपत्ता कुवेतीसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न चाहेको पनि विदेश मन्त्रालयले जनाएको छ । युद्धका समयमा बेपत्ता भएका कुवेतीहरुको खोजी गर्न गठित टोलीले इराकको दक्षिणी मुथान्ना प्रान्तमा गत मार्च ६ मा सामूहिक चिहान फेला पारेको थियो । मन्त्रालयको वक्तव्यमा विस्तृत अध्ययनबाट उक्त चिहानमा फेला पारेका व्यक्तिहरुका अवशेष कुवेती नागरिकको रहेको प्रमाणित भएको उल्लेख छ । सञ्चार माध्यमहरुले सामूहिक चिहानमा फेला परेका व्यक्तिका अवशेषहरु सन् १९९१ को खाडी युद्धका कुवेती युद्धबन्दी रहेको बताएका थिए । मन्त्रालयको वक्तव्यमा भनिएको छ – इराकमा बेपत्ता कुवेतीको खोजीमा इराकले कुनै कसर बाँकी राख्ने छैन । सन् १९९१ देखि नै कुबेती युद्धबन्दीको खोजी र हस्तान्तरणमा इराकी रेडक्रसले गरेको सहयोगप्रति इराक सरकारले धन्यवाद पनि दिएको छ । इराकका लागि कुवेती राजदूत सलिम अल–जमानानले दुई देशबीच सुल्झन बाँकी मुद्दाहरुलाई सम्बोधन गर्न इराकी सरकारले देखाएको तत्परताप्रति आभार व्यक्त गर्नुभएको छ । इराकमा बेपत्ता कुवेती नागरिकको खोजीमा भएको प्रगति निकै उत्साहजनक रहेको कुवेतको भनाई छ । कुवेतले खाडी युद्ध पश्चात् झण्डै ६०० कुवेती नागरिक बेपत्ता रहेको बारम्बार दाबी गरिरहेको छ । अमेरिका समेतका गठबन्धन सेनाको सहयोगमा सन् १९९१ मा इराकी सैनिकको कब्जाबाट कुवेत स्वतन्त्र भएको थियो । ––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू