०९ माघ २०८१

एल पासो गोलीकाण्ड आतंकवादी कार्य हो – मेक्सिकाली विदेशमन्त्री

२० श्रावण २०७६, सोमबार १६:१७ मा प्रकाशित

मेक्सिको सिटी, २० साउन  मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले अमेरिकाको एल पासोमा भएको गोलीकाण्डलाई मेक्सिकोका नागरिकले आतंकवादी कार्यका रुपमा लिएको बताउनुभएको छ । उहाँले एल पासो गोलीकाण्डमा केही मेक्सिकाली नागरिकको पनि मृत्यु भएकाले गोली चलाउने व्यक्तिलाई मेक्सिको सुपुर्दगी गर्न अमेरिका समक्ष आग्रह गरिने जानकारी दिनुभएको छ । अमेरिकाको टेक्सासस्थित एल पासोको एक वाल्मार्ट सपिङ मलमा शनिबार एक व्यक्तिले गोली चलाउँदा २० जनाको मृत्यु भएको थियो । मारिएका व्यक्तिमध्ये सात जना मेक्सिकाली मूलका व्यक्तिहरु परेका थिए । मेक्सिकोका महान्यायाधीवक्ताले गोली चलाउने व्यक्तिलाई सुपुर्दगी गराउने विषयमा सम्भावित कानुनी बाटो खोजी गरिरहेको विदेशमन्त्री एब्रार्डले बताउनुभयो । गोली चलाउने व्यक्ति हाल अमेरिकी प्रहरीको नियन्त्रणमा रहेका छन् । विदेशमन्त्री एब्रार्डले मेक्सिकोले गोली चलाउने व्यक्तिलाई आतंकवादी ठहर गरेको पनि बताउनुभयो । अर्कोतर्फ, मेक्सिकाली राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले एल पासो घटनाका दोषीमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताउँदै संयुक्तराज्य अमेरिकामा हतियारको खुलेआम प्रयोगमा नियन्त्रण आवश्यक छ भन्नुभयो । विदेशमन्त्री एब्रार्डले पीडित परिवारसँग भेट गर्न सोमबार एल पासोको भ्रमण गर्न लागेको पनि बताउनुभयो । प्याट्रिक क्रुसियस नाम गरेका २१ वर्षीय एक युवाले टेक्सासमा हिस्पानिक समुदायका व्यक्तिको आप्रवासन बढेको भन्दै एल पासोस्थित वाल्मार्ट सपिङ मलमा अन्धाधुन्ध गोली चलाएका थिए । मेक्सिकोसँगको सीमा नजिक अमेरिकाको एल पासोमा ल्याटिनो समुदायका मानिसको बाक्लो बसोबास छ । ––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter