जनकपुरधाम, १९ साउन प्राविधिकहरूले कुनै पनि निर्माणकार्यको नक्सा बनाउँदा पर्यावरणीय सन्तुलनमैत्री बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । इञ्जिनीयरिङ कन्सल्टेन्सी एशोसिएसन प्रवेश नं २ को प्रथम अधिवेशनका अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रमका वक्ताहरूले सो धारणा व्यक्त गर्दै पर्यावरणीय असन्तुलनका कारण प्राकृतिक स्रोत सुक्दै गएको तर्फ ध्यानाकर्षण गराउनुभयो । कङ्क्रिट निर्माणकार्यले वातावरणीय समस्यामा वृद्धि भएको तर्फ ध्यान नगएका कारण मानव विभिन्न रोगबाट सङ्क्रित हुँदै गएको प्रसङ्ग उहाँहरूले उल्लेख गर्नुभयो । उहाँहरूले जनकपुरधामलगायत प्रदेशका विभिन्न स्थानका कलमा पानी आउन बन्द भइसकेको, इनारका पानी सुक्दै गएको चर्चा गर्दै जनकपुरधाममा ५०० फिटमा भएका कलहरूमा पानी नआउने क्रम बढदै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो । पहिला नाला कच्ची हुन्थ्यो, पानीलाई रिचार्ज हुन पनि सजिलो हुन्थ्यो, तर अहिले कङ्क्रिट निर्माणकार्यको बाहुल्यताले वातावरणीय जटिलता बढाउँदै गएको उहाँहरूले बताउनुभयो । ठूलो घर निर्माण गर्ने तर वातावरणमैत्री संरचना निर्माणतर्फ ध्यान नदिइएका कारण प्राविधिकको दक्षतासमेतमा प्रश्नचिह्न लाग्ने गरेको प्रसङ्ग उहाँहरूले उल्लेख गर्नुभयो । प्रदेशसभा सदस्य एवं स्वच्छता अभियन्ता रामअशीष यादवले अभियन्ताको परिकल्पना दूरगामी हुनुपर्ने बताउनुभयो । दूरगामी परिकल्पनाको अभावका कारण महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका आजभोलि बाढी, डुबान, कटानका मार छन् भन्दै उहाँले मापदण्डमा नै पर्यावरणीय सन्तुलनमुखी बनाउनु जरूरी छ भन्नुभयो । एशोसिएसनका संयोजक हेमशङ्कर अरगरियाको अध्यक्षतामा भएको सो समारोहमा इञ्जिनीयर सञ्जय साह, दिलीपकुमार श्रीवास्तव र लालबाबु साहलगायतका वक्ताले कतिपय स्थानीय तहमा कार्यरत कर्मचारीले नै नक्सा बनाउँदा स्वीकृत गरिने प्रवृत्ति बढ्दै जानु दुखद् हो भन्नुभयो । –––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू