वर्षायामको भलपानीका कारण रसुवागढी क्षेत्रको राजमार्ग जीर्ण बन्दै गएको छ । नेपाल–चीनबीचको व्यापार व्यवसाय अभिवृद्धि गर्ने एकमात्र उत्तरी नाका रसुवागढी राजमार्ग जीर्ण भएपछि कसरी कन्टेनर डिब्बा गुढाउने भन्ने विषयमा चिन्ता हुन थालेको सवारी चालकले बताएका छन् । गोसाइँकुण्ड गाउँपालिका–५ खोपाङ भिर इलाकामा सडक सतह जीर्ण हँुदा हिलोको लिगमा गुडाउँदा तलका पार्टपूर्जा ठोक्किएर बिग्रने, लिगभन्दा बाहिर चक्का पर्दा दुर्घटना होला भन्ने डरको समस्या बढेको चालकको गुनासो रहेको छ । बिग्रेका सडक सतहमा सामान्य रूपबाट भए पनि गेगर माटोले खाल्टा पुरी दिन सडक कार्यालय समक्ष आग्रह गरिएको कन्टेनर डिब्बा चालक जीवन आचार्यले बताउनुभयो । ‘‘राजमार्गमा हामीले कर तिरेर सवारी साधन गुडाएका छौँ ठूलो मर्मत गर्न प्रक्रियामा जानु पर्ला दुई÷चार ट्रक गेगर राखेर सहज हुने ठाउँमा समेत सडक कार्यालयले खाल्टो पुर्ने कामसमेत अगाडि नबढाउँदा सवारी साधन गुडाउन दिन प्रतिदिन समस्या पर्दै गएको छ’’ चालक आचार्यले गुनासो पोख्नुभयो । विगतको तुलना ठाउँठाउँमा सडकका माथि वा तलबाट जाने पहिरो जान कमी आएको बताउँदै रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले खाल्टाखुल्टी परेका सडक सतह मिलाउन सडक कार्यालयलाई ताकेता गरिरहेको बताउनुभयो । रसुवा तथा नुवाकोट जिल्लाका ग्रामीण सडक तथा राजमार्ग हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख एवं डिभिजनल इञ्जिनीयर नीरज शाक्यले भने डोजर अपे्रटर नभएका कारण मेशिनद्वारा नियमित मर्मतका काम रोकिएकाले अब दुई÷चार दिन पछाडि सडकका खल्टाखुल्टी मिलाउने काम अगाडि बढ्ने बताउनुभयो । यसैगरी स्याफ्रुवेंशीदेखि रसुवागढीसम्मको १६ किमी राजमार्ग भने निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले नियमितरूपमा वर्षायामको पहिरो हटाई राजमार्ग सञ्चालनमा सहयोग गरिरहेको स्थानीय प्रशासनले जनाएको छ । वर्षाका कारण ठाउँठाउँमा गएको पहिराका कारण बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुवेंशीतर्फको छोटो नयाँ राजमार्ग बन्द भएको छ । गल्छी, मैलुङ, स्याफ्रुवेंशी सडक सुधार आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले दिएको जानकारीअनुसार नयाँ राजमार्गको ठाउँठाउँमा ठ्ूलाठूला पहिरो गएको र राजमार्ग सुधारअन्तर्गत पहिरोसमेत पन्छाउन ठेकेदार छनोटको कामसमेत प्रक्रियागतरूपमै रहेकाले वर्षायामभर नदी किनारको मैलुङ राजमार्ग बन्द गरिएको हो । –––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू