०३ माघ २०८१

छरुवा धान खेतीप्रति आकर्षण

१ श्रावण २०७६, बुधबार १५:२८ मा प्रकाशित

कञ्चनपुर, १ साउन  ,,  कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तीबोझाका किसान असारेराम बडायक छरुवा धान खेतीबाट बढी प्रतिफल हासिल हुन थालेपछि यसतर्फ आकर्षित हुनुभएको छ । खेतलाई हिल्याएर रोपाइँ गरी लगाइएको धान खेतीभन्दा छरुवा विधिबाट लगाइएको धान खेतीको उत्पादन १५ देखि २० प्रतिशत बढी हुन थालेको छ । गत वर्ष एक बिघा जग्गामा छरुवा विधिबाट हिर्दिनाथ धान खेती गरेका उहाँले ५६ बोरा धान उत्पादन गर्नुभएको थियो । “त्यही जग्गामा रोपाइँ गरेको भए २० देखि २५ बोरा धान उत्पादन हुन्थ्यो”, उहाँले भन्नुभयो, “छरुवा धान खेतीसँगै हरियो मलका रुपमा मँुग लगाइएकाले उत्पादन बढेको छ ।” यस वर्ष पनि झारपातको समस्या नभएकाले धानको उत्पादन बढ्ने आशा लिइएको उहाँले बताउनुभयो । धानसँगै मुँग लगाउँदा यसले हरियो मलका रुपमा काम गर्नाका साथै झारपातको प्रकोप पनि कम गर्दछ । धान छरेको ३० दिनको अवधिमा झारनाशक विषादीको प्रयोग गरी मुँगका बोटहरु मर्ने र त्यसले मलको कार्य गर्दछ । कृषिसम्बन्धी किताब पढेर र भारतको एक टेलिभिजनमा आउने कृषि कार्यक्रम हेरेर छरुवा धान विधिमा मुँगको मिश्रित खेती गर्न प्रेरित भएको वडायकले बताउनुभयो । धानको बेर्ना तयार गर्दादेखि रोपाइँ गर्दासम्म निकै खर्च र श्रम खर्चिनुपर्ने भए पनि छरुवा विधिमा ‘सिड ड्रिल मेशिन’को सहायताले सिधै खेतमा खनजोत नगरी धान खेती गरिने भएकाले लागत खर्चमा कमी आउने र उत्पादनसमेत बढ्ने गरेको उहाँको भनाइ छ । “मेशिनको सहायताले मल र बीउ एकै साथ छर्ने भएकाले काम छिटोछरितो सम्पन्न गर्न सकिन्छ । जनशक्ति पनि धेरै लाग्दैन”, कृषि प्राविधिक हरिश सेटीले भन्नुभयो । छरुवा विधिबाटै धान खेती गरेका कृष्णपुर नगरपालिकाको बालुवा फाँटाका किसान वीरबहादुर राजवंशीले खेतमा धानको बीउ मेशिनको सहायताले एकनासले छरिएकाले रोपिएको धानभन्दा बोटहरु राम्रोसँग सप्रिएको बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter