०७ माघ २०८१

स्वास्थ्य सूचना केन्द्र स्थापना

२५ असार २०७६, बुधबार १०:३० मा प्रकाशित

काभ्रेपलाञ्चोक, २५ असार  ,,  पर्यटकीय नगरी धुलिखेलमा स्वास्थ्य सूचना केन्द्र स्थापना गरिएको छ । ‘हेल्दी सिटी’को अवधारणालाई अघि बढाउन तथा नगरको समग्र स्वास्थ्य क्षेत्रको एकीकृत सूचना प्रणाली व्यवस्थापन गर्ने उद्देश्यका साथ उक्त केन्द्र स्थापना गरिएको हो । केन्द्रबाट धुलिखेल नगरपालिकाभित्रको समग्र स्वास्थ्य अवस्थाको जानकारी लिन सकिने नपा स्वास्थ्य संयोजक सन्दीप केसीले बताउनुभयो । उहाँका अनुसार पालिकाले नगरको समग्र स्वास्थ्य अवस्था केन्द्रबाट जानकारी लिनेछ भने स्वास्थ्य विधाका विद्यार्थी, अनुसन्धानकर्ता तथा पर्यटकसमेतले धुलिखेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सक्नेछन् । नपाले उक्त केन्द्र धुलिखेल अस्पतालको साझेदारीमा धुलिखेलस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना गरेको हो । नेपालका स्थानीय तहमध्ये धुलिखेल नपामा स्थापित स्वास्थ्य सूचना केन्द्र सम्भवतः पहिलो मानिएको छ । “धुलिखेललाई बालमैत्री र वातावरणमैत्री नगरसँगै स्वस्थ शहर बनाउने नीतिअनुसार स्वास्थ्य सूचना केन्द्र स्थापना गरेका हौँ”, नगरप्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठले भन्नुभयो । ब्याञ्जूका अनुसार नगरभित्रका निजी, सरकारी तथा गैरसरकारी विभिन्न स्वास्थ्य संस्थाको पनि स्वास्थ्यसँग सम्बन्धित सूचना उपलब्ध गराइनेछ । केन्द्रका लागि आवश्यक सामग्री नपा कार्यालयले उपलब्ध गराएको हो । केन्द्रबाट नगरको अद्यावधिक जनसङ्ख्या, नगरभित्रका विभिन्न प्रकारका रोगीको सङ्ख्या तथा अवस्था जानकारी लिन सकिनेछ । स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख नन्दराज अवस्थीले धुलिखेलमा स्वास्थ्य सूचना केन्द्र स्थापनाले स्थानीयवासी र पर्यटकका लागि सुविधा पुग्ने बताउनुभयो । धुलिखेलमा एक प्राथमिक स्वास्थ्य केन्द्र, दुई प्रजनन केन्द्रसहित चार स्वास्थ्यचौकी, तीन नगर स्वास्थ्य केन्द्र र एक आयुर्वेद स्वास्थ्य केन्द्र रहेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter