०३ माघ २०८१

बसपार्कको नक्साङ्कन र पर्खाल निर्माण

२३ असार २०७६, सोमबार १३:४३ मा प्रकाशित

दमौली, २३ असार  ,,  तनहुँको बन्दीपुर गाउँपालिका–१ चिसापानीमा गाउँपालिकाको आन्तरिक बजेटबाट बसपार्कको नक्साङ्कन र पर्खाल निर्माणको काम सम्पन्न भएको छ । गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोखरेलका अनुसार पृथ्वीराजमार्गदेखि बसपार्कसम्म पुग्ने ५०० मिटर बाटोमा पर्खाल लगाइएको छ । ग्राभेल, नाला निर्माण, जग्गा सम्याउने, ढलान गर्ने लगायतका काम गर्न बाँकी रहेको पोखरेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार बसपार्क निर्माणका लागि चालू आर्थिक वर्षमा रु ३० लाख विनियोजन भएको थियो । पोखरेलले बसपार्क निर्माणका लागि गाउँपालिकाले आगामी आवका लागि रु २५ लाख बजेट विनियोजन गरेको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बसपार्कमा करीब ५०० सवारी पार्किङ गर्न मिल्नेछ । डुम्रे बजारमा बसपार्क नहुँदा सार्वजनिक सवारीको व्यवस्थापन अस्तव्यस्त भएकोले माथिल्लो डुम्रे चिसापानीमा बसपार्क निर्माण थालिएको बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष घनश्याम श्रेष्ठले बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “बसपार्क नहुँदा अहिले सडकछेउमै बस रोक्नुपर्ने बाध्यताले दुर्घटना बढेको छ र पैदलयात्रीलाई समेत आवातजावतमा समस्या छ ।” तनहुँ र लमजुङको व्यापारिक केन्द्र डुुम्रेमा बसपार्क नहुँदा जथाभावी पार्किङ गर्नुपर्ने बाध्यता छ । बसपार्क निर्माणपछि डुम्रेको सवारी व्यवस्थापन सहज हुने श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “पृथ्वी राजमार्गसँगै जोडिएको डुम्रे हुँदै दैनिक सयौँ सवारी गुड्ने गर्दछन्, त्यहीमाथि सडकमै पार्किङ गर्नुपर्ने बाध्यताले समस्या हुँदै आएको छ ।” गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले गाउँपालिकाकै आन्तरिक स्रोतबाट बसपार्क निर्माण गर्ने लक्ष्य राखिएको बताउनुभयो । “प्रत्येक वर्ष बजेट विनियोजन गर्दै कामलाई तीव्र बनाउँछौँ”, उहाँले भन्नुभयो । मुद्दाको समाधान मेलमिलापबाट तनहुँ जिल्ला अदालतबाट चालू आव २०७५÷७६ मा ३७८ वटा मुद्दा मेलमिलापबाट समाधान गरिएको छ । विवाद समाधान गर्न मेलमिलापलाई जोड दिइएपछि दर्ता भएकामध्ये ३७८ वटा मुद्दा मेलमिलापबाट टुङ्गो लागेको हो । चालू आवमा एक हजार ५५२ मुद्दा रहेकोमा ६६ वटा मेलमिलाप केन्द्रबाट र ३१२ मुद्दाका पक्ष आफैँले मिलापत्र गरेको तनहुँ जिल्ला अदालतका न्यायाधीश दीपक ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार विवादको समाधान मेलमिलापबाट टुङ्गो लगाउँदा दुवै पक्षले जितेको महसुस गर्ने, मितव्ययी र सहज हुने भएकाले अदालतले मेलमिलापलाई जोड दिएको छ । “सामान्य विवादलाई मेलमिलापको माध्यमबाट समाधान गर्न मेलमिलापकर्तालाई बेला–बेलामा प्रशिक्षण दिने गरेका छौँ”, न्यायाधीश ढकालले भन्नुभयो । देशको परिवेश, सामाजिक व्यवहार लगायतका कारणले गर्दा मेलमिलाप आवश्यक रहेकोले मेलमिलापलाई प्राथमिकतामा राखिएको ढकालले जानकारी दिनुभयो । “मेलमिलापका लागि केही कानूनी विधि र प्रक्रिया निर्माण गरिएको छ, सोही विधिको आधारमा मिल्न सक्ने विवाद मेलमिलापमा पठाउने गरिएको छ”, न्यायाधीश ढकालले भन्नुभयो । मेलमिलापबाट समाधान गरिएका मुद्दामा बढी सम्बन्धविच्छेदका रहेको अदालतका स्रेस्तेदार सुदर्शन खनालले जानकारी दिनुभयो । ६६ वटा न्यायाधीशको आदेशमा मेलमिलाप केन्द्रबाट समाधान गरिएको र ३१२ वटा पक्ष विपक्ष आफैँ मिलेर समाधान गरिएको उहाँले बताउनुभयो । खनालका अनुसार मेलमिलापबाट टुङ्गो लागेका मुद्दामा सम्बन्धविच्छेद, अंशवण्डा, जग्गा विवाद लगायत रहेका छन् । नेपाल वार एशोसिएशन तनहुँ जिल्ला अदालत एकाइका अध्यक्ष अमृत नेपालीले जीत–जीतको सिद्धान्त मेलमिलापले लिएकोले अधिवक्ताले मेलमिलापलाई सकारात्मक रुपमा सञ्चालन गर्ने गरेको जानकारी दिनुभयो । “मेलमिलापका धेरै फाइदाहरु छन्, विवाद टुङ्ग्याउने सहज उपाय मेलमिलाप हो”, उहाँले भन्नुभयो । नेपालमा २० वर्ष पहिलादेखि मेलमिलापबाट विवाद समाधान गर्ने कामको थालनी भएको थियो । छिमेकी–छिमेकी विवाद, परिवार–परिवारका विवाद मेलमिलापको माध्यमबाट समाधान हुँदै आएको मेलमिलाप परिषद्का संयोजक केशरीराज पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अदालतमा विसं २०६० देखि मेलमिलापको थालनी भएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter