लागुऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि समुदाय र प्रहरीबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज रूपन्देहीले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाले लागुऔषधको दुरुपयोगले व्यक्ति मात्र नभई समाज र राष्ट्रलाई असर पार्ने भएकाले यसको रोकथाममा सबै लाग्नुपर्ने बताए । कार्यक्रममा शान्ति समाजका वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले विद्यालय, समुदाय र कार्यस्थललाई लागुऔषध निषेधित क्षेत्र तोक्न माग गर्नुभयो । “लागुऔषधको विषयलाई पाठ्यक्रममै समावेश गरी समुदाय निगरानी कार्यक्रम सञ्चालन गर्नुपर्छ”, उहाँले भन्नुभयो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले लागुऔषध दुव्र्यसनको अवस्था विकराल भएकाले कानूनले मात्रै यसको समस्या समाधान सम्भव नभएको बताउनुभयो । उहाँले लागुऔषध दुरुपयोग नियन्त्रणका लागि सबैले आआफ्नो क्षेत्रबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो । “लागुऔषध दुव्र्यसनीमा फस्नु भनेको दलदलमा फस्नु जस्तै हो । एकपटक परेपछि निस्कन गाह्रो हुन्छ”, उहाँले भन्नुभयो, “लागुऔषधलाई ‘नो’ भन्न सिकाँै ।” मानवअधिकार आयोग प्रदेश नं ५ का निर्देशक सम्झना शर्माले कानून कार्यान्वयन गर्ने निकायको सक्रियताले मात्रै लागुऔषध नियन्त्रण सम्भव नभएकाले सबै सङ्घसंस्था र समुदायबीच सहकार्य हुनुपर्ने बताउनुभयो । राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष बालकृष्ण चापागाईंले लागुऔषध दुरुपयोग रोक्न सबै मिलेर अभियान चलाउनुपर्ने र त्यसमा मिडियाले साथ दिने धारणा राख्नुभयो । कार्यक्रममा लागुऔषध रोकथाममा प्रहरीको भूमिकाबारे प्रस्तुति दिँदै प्रहरी निरीक्षक हेमबहादुर केसीले लागुऔषध दुव्र्यसनीले मानसिक अवस्थामा खलल पु¥याउने भएकाले यसबाट टाढा रहन र अरुलाई सचेत गराउन युवालाई आग्रह गर्नुभयो । सबैभन्दा बढी १५ देखि २४ वर्ष उमेर समूहका किशोरकिशोरी र युवा कुलतमा फस्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले यसको नियन्त्रणका लागि सबै सचेत र जागरुक हुनुपर्ने बताउनुभयो । समाजका जिल्ला अध्यक्ष डिपी खनालले लागुऔषध दुव्र्यसनविरुद्ध परिवार र समाजलाई जागरुक बनाउने अभियानमा लाग्न युवालाई आग्रह गर्नुभयो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू