हेटौँडा, २ असार ,, प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेशसभा सदस्यलाई दिइने विकास कोषको अनुदान व्यक्तिगत प्रयोजनका लागि नभई निर्वाचन क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि विनियोजन गरिएको स्पष्ट पार्नुभएको छ । प्रदेश सरकारद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०७६÷०७७ बजेटमा विनियोजित रकमका सन्दर्भमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “प्रदेशको १३ वटै जिल्लामा यातायात सडक सञ्जाल जोड्ने पुष्पलाल चक्रपथको निर्माण र प्रदेशमा नयाँ विश्वविद्यालयको स्थापना गर्ने कार्यलाई बजेटमा उच्च प्राथमिकता दिएको छ ।” मन्त्री ढुङ्गेलले स्वरोजगार, भौतिक पूर्वाधार निर्माण, कृषि उत्पादन, पर्यटन र ऊर्जा उत्पादनका क्षेत्रलाई सरकारले विशेष प्राथमिकतामा राखिएको चर्चा गर्दै हेटौँडा अस्पताललाई स्तरोन्नति गरी स्व मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका रुपमा विकास गर्न तथा पोष्टबहादुर बोगटी स्मृति भीमफेदी सुरुङमार्गको निर्माणका लागि प्राथमिकताका साथ बजेट विनियोज भएको जानकारी दिनुभयो । उहाँले इन्धनबाट चल्ने सवारी साधनलाई निरुत्साहित गरी विद्युतीय सवारी साधनको सञ्चालनका लागि बजेटले विशेष जोड दिएको उल्लेख गर्दै राष्ट्रिय गौरवको आयोजना एवं भौतिक पूर्वाधार निर्माणका क्रममा अवरोध सिर्जना भएमा त्यसको समाधानका लागि उच्चस्तरीय अनुगमन टोली गठन गर्ने पनि बताउनुभयो । प्रदेश नीतियोजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटा र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बालकृष्ण घिमिरेले बजेटले समेटिएका भौतिक पूर्वाधार, पर्यटन र राष्ट्रिय गौरवको आयोजनाको निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने बताउँदै पूँजीगत खर्चमा देखिएको कमीकमजोरीलाई प्रक्रियागतरुपमा सुधार गरी सहजता ल्याउने धारणा व्यक्त गर्नुभयो । प्रदेश नं ३ प्रदेशसभाको हिजोको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेलले आगामी आव २०७६÷०७७ का लागि कूल रु ४७ अर्ब ६० करोड ८० लाख ८९ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू