०८ माघ २०८१

करिडोर निर्माणसँगै ट्राफिक व्यवस्थापनमा सहज’

२८ जेष्ठ २०७६, मंगलवार १५:४१ मा प्रकाशित

काठमाडौँ, २८ जेठ  ,,  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले करिडोर निर्माणसँगै उपत्यकाको ट्राफिक व्यवस्थापन सहज हुँदै गएको बताउनुभएको छ । नयाँ बसपार्क–म्हैपी हुँदै बालाजु करिडोरको आज निरीक्षण गर्दै उहाँले करिडोर निर्माणले उपत्यकामा हुने ट्राफिक जाममा कमी आउने बताउनुभएको हो । महानिरीक्षक खनालले उपत्यकाको ट्राफिक सुधारका लागि महानगरीय ट्राफिक महाशाखाले तीनमहीने कार्ययोजना बनाएर अगाडि बढेको बताउँदै उक्त करिडोर निर्माणसँगै मुख्य सडकमा हुने सवारी चाप घट्ने उल्लेख गर्नुभयो । “हालसम्म ट्राफिक प्रहरीले विभिन्न निकायसँगको सहकार्यमा उपत्यकामा पाँच वटा करिडोर खोलिसकेको छ, सडक खोलेर मात्र हुँदैन स्तरोन्नति गर्नुपर्छ, त्यसका लागि ट्राफिक प्रहरी सम्बन्धित निकायसँग समन्वय गरेर अगाडि बढ्छ”, उहाँले भन्नुभयो । सोही अवसरमा महानिरीक्षक खनालले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई टेलिफोन सम्पर्क गरेर बाटो व्यवस्थित बनाउनेमा मन्त्रालयले खेल्नुपर्ने भूमिकाबारे ध्यानाकर्षण गराउनुभएको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले करिडोर निर्माणसँगै नेपालको राष्ट्रिय बसपार्क भित्रिने सवारी साधनको चापमा कमी आउने बताउनुभयो । “करिडोर निर्माणसँगै सवारी साधन निर्बाध ढङ्गले चल्न सक्छन्”, उहाँले भन्नुभयो । काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले करिडोर निर्माणसँगै झोर, टोखा, बानियाटार, नयाँ बसपार्क, म्हैपी, बालाजु, शोभाभगवती हुँदै कालीमाटीसम्म सहज ढङ्गले सवारी साधन आवतजावत गर्न सक्ने बताउनुभयो । “बाटो ग्राभेल र पिच गर्न स्थानीय सरकार कटिबद्ध रहेको छ”, उहाँले भन्नुभयो । काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले करिडोर निर्माणसँगै बालाजु, माछापोखरी, नयाँ बसपार्क क्षेत्रमा हुने सवारी जाममा कमी आउने बताउनुभयो । करिडोर निर्माणका लागि महागरपालिकाले सहयोग गर्ने उहाँको भनाइ थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter