०३ माघ २०८१

म्याग्दीमा सैनिक बोर्ड स्थापना

२८ जेष्ठ २०७६, मंगलवार १०:२३ मा प्रकाशित

गलेश्वर, २८ जेठ  ,,  म्याग्दीमा भारतीय सेनाबाट सेवानिवृत्त सैनिकको सुविधाका लागि जिल्ला सैनिक बोर्डको कार्यालय स्थापना गरिएको छ । म्याग्दीको सदरमुकाम बेनीमा स्थापना भएको बोर्डको सोमबार भारत सरकारका रक्षा सहचारी कर्नेल अवनिश चाम्बियलले उद्घाटन गर्नुभएको हो । भारतीय रक्षा सहचारी कर्नेल चाम्बियलले बोर्ड स्थापना गर्न सफल भएकोमा जिल्लाका भुपूसैनिकलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले भारत सरकार र नेपाल सरकारबीचको सम्झौताअनुसार तथा म्याग्दीवासीको माग र आवश्यकतालाई ध्यानमा राखी म्याग्दीमा जिल्ला सैनिक बोर्ड स्थापना गरिएको बताउनुभयो । साथै उहाँले बोर्ड स्थापनासँगै भारतीय सेनाबाट अवकाशप्राप्त भुपूसैनिकले पाउने सेवासुविधा जिल्लामै पाउने जानकारी दिनुभयो । भारत र नेपाल सरकारको सम्बन्ध प्राचीनकालदेखि नै सांस्कृतिक, धार्मिक तथा राजनीतिकरूपमा प्रगाढ रहको उहाँको भनाइ थियो । नेपाली भुपूसैनिकको हरेक समस्या समाधानका लागि भारत सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले सैनिक बोर्ड स्थापनाले भुपूसैनिकलाई ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा भुपूसैनिक कल्याणकारी सेवा केन्द्र म्याग्दीका अध्यक्ष क्याप्टेन मीनबहादुर कार्कीले म्याग्दीका भुपूसैनिकको १६ वर्षसम्मको सङ्घर्षपछि जिल्ला सैनिक बोर्ड स्थापना हुन सफल भएको बताउनुभयो । म्याग्दीमा पाँच हजार बढी भारतीय भुपू सैनिक रहेका उहाँले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter