११ माघ २०८१

खानेपानीको मुहानमै डम्पिङ साइट

२४ जेष्ठ २०७६, शुक्रबार १४:३० मा प्रकाशित

अमरगढी, २४ जेठ  ,,  अमरगढी नगरपालिकाले पानीको मुहान नजीकै डम्पिङ साइट बनाएपछि स्थानीय बासिन्दले विरोधमा उत्रिएका छन् । वडा नं ७ को कुयलीमा रहेको गुनेइगाड नजीकै डम्पिङ साइट बनाएर फोहर फाल्न थालिएकाले उनीहरूले विरोध जनाएका हुन् । स्थानीय बासिन्दाको जमीन भाडामा लिई नगरपालिकाले बजारको फोहर फाल्न थालेकाले खोलाको पानी र वरिपरिको वातावरण नै दुर्घन्धित भएकाले त्यहाँ फोहर फाल्न बन्द गर्नुपर्ने स्थानीयवासी राम भण्डारीले बताउनुभयो । डम्पिङ साइट हटाउन नगरपालिकासँग पटक–पटक आग्रह गर्दा पनि सुनवाइ नभएकाले आफूहरू आन्दोलन गर्ने तयारीमा रहेको उहाँको भनाइ थियो । नगरपालिकाले बजार क्षेत्रमा सङ्कलन हुने फोहर गुनेइगाडमा फाल्छ, जहाँको पानी सोही नगरवासीदेखि लिएर अजयमेरु गाउँपालिका र भागेश्वर गाउँपालिकाका बासिन्दाले प्रयोग गर्दै आएका छन् । डम्पिङ साइटका कारण रातको समयमा फोहरमा स्याल, बँदेललगायत जीव आउँदा त्यही बाटो भएर ओहोरदोहोर गर्न समस्या हुने गरेको उनीहरूको गुनासो थियो । नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले डम्पिङ साइट निर्माणका लागि जमीन खोजिरहेको र त्यसका लागि सूचना पनि जारी भइसकेको बताउनुभयो । “पहिलाको डम्पिङ साइटमा त्यहाँका बासिन्दाले फोहर फाल्न अवरोध गरेकाले अस्थायी रुपमा कुयलीमा राखेका हौँ । अब स्थायी ठाउँका लागि जमीनको खोजी गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter