कुनै बेला जङ्गलमा झुपडी बनाएर जीवन निर्वाह गर्दै आएका लोपोन्मुख राउटे समुदायका नागरिक समाजमा घुलमिल भएसँगै सुविधातर्फ पनि ध्यान दिन थालेका छन् ।
भीमदत्तनगरपालिका–९ मटेनास्थित बैजनाथ सामुदायिक वनको खाली जमीनमा टहरा बनाएर बस्दै आएका फुना राउटेले दुई कोठे पक्की घर बनिरहेको भन्दै खुशी व्यक्त गर्नुभयो ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का निर्वाचित प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्टको सांसद विकास कोषको रकमबाट राउटे परिवारलाई पक्की घर बनाउन लागेको वडा नं ९ का वडाध्यक्ष राम नाथले जानकारी दिनुभयो ।
मटेनामा एक दशकदेखि पाँच परिवार राउटे समुदाय बसोवास गर्दै आएका छन् भने भीमदत्तनगरपालिका–९ को खल्लागाउँमा तीन परिवार बस्दछन् । घर निर्माणमा खटिएकी फुना राउटेले टहरामा निकै कष्टपूर्ण दैनिकी गुजार्दै आएको बताउनुभयो । ‘‘अहिले पनि जङ्गलको काष्ठ सामग्री, जडीबुटी र गाउँघरमा मजदूरी गरेर जीविका चलाउँछौँ ।’ उहाँले भन्नुभयो,“हाम्रो बाच्ने आधार नै अहिले सरकारले दिने भत्ता भएको छ ।”
वडाध्यक्ष नाथले राउटेको प्रतिव्यक्ति मासिक रु दुई हजारका दरले सामाजिक सुरक्षा भत्ता दिँदै आएको जानकारी दिनुभयो । ‘‘भत्ताबाटै रासन खरीद गरेर गुजारा गरिरहेका छन्’’ उहाँले भन्नुभयो,“अहिले त गाउँघरमा घुलमिल भएर काम पनि गरिरहेकै हुन्छन् ।” अहिले गाउँमा राउटे समुदायका बालबालिका स्कुलसमेत जान थालेका छन् ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू