०३ माघ २०८१

शिक्षक अभावमा विद्यालय बन्द हुने अवस्थामा

२२ बैशाख २०७६, आईतवार ११:२१ मा प्रकाशित

दमौली, २२ वैशाख  ,,  तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित छ सामुदायिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको छ । आँबुखैरेनी गाउँपालिका–२ को इच्छाकामना प्राथमिक विद्यालय, छिम्केश्वरी प्राथमिक विद्यालय, वडा नं ४ को रुद्रदेवी प्राथमिक विद्यालय, इन्द्रादेवी प्राथमिक विद्यालय, वडा नं ६ को मिलन प्राथमिक विद्यालय र कृष्ण प्राथमिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको हो ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख साधुराम पौडेलले ती विद्यालयमा शिक्षक अभाव भएकाले पठनपाठनमा समस्या हुन पुगेको जानकारी दिनुभयो । शिक्षक सेवा आयोगबाट शिक्षकको नतिजा प्रकाशन भएसँगै ती विद्यालयमा शिक्षक अभाव भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ती विद्यालयमा पढाइरहनुभएका शिक्षकमध्ये कतिपयले नाम निकाल्न सक्नुभएन र केहीले अवकाश रोज्नुभयो । जसका कारण विद्यालयमा शिक्षक अभाव हुन पुग्यो ।”
उहाँका अनुसार शिक्षक कम भएका ती विद्यालयमा शिक्षक व्यवस्थापनका लागि सम्बन्धित वडाध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको छ । उहाँका अनुसार ती विद्यालयमध्ये केही विद्यालय मर्ज गर्नुपर्ने अवस्थासमेत रहेको छ । उहाँले भन्नुभयो, “केही विद्यालयमा विद्यार्थी सङ्ख्या ज्यादै न्यून छ, त्यस्ता विद्यालय मर्जको प्रक्रिया बढाइएको छ, कम विद्यार्थी भएको विद्यालयमा सहजकर्ताले पढाइरहनुभएको छ ।”

वडा नं ३ स्थित परोपकार प्राथमिक विद्यालयमा समेत वैशाख २६ गतेबाट शिक्षक अभाव हुने उहाँले बताउनुभयो । उहाँका अनुसार उक्त विद्यालयमा कार्यरत दुई शिक्षकमध्ये एक अस्थायी शिक्षक परीक्षामा फेल भएको र अर्को एक आगामी वैशाख २६ गतेबाट निवृत्त हुँदैछन् ।

आँबुखैरेनी गाउँपालिकाभित्रका ३८ विद्यालयमा १७८ शिक्षक कार्यरत थिए । ३० अस्थायी शिक्षकमध्ये केहीले अवकाश रोजे भने केहीले परीक्षामा सहभागी भएर नाम निकाल्न सकेनन् । गाउँपालिकाभित्रका एक शिक्षकको सरुवा भइसकेको छ भने एक सेवा निवृत्त हुने तयारीमा छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter