काठमाडौँ, २० वैशाख ,, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासका लागि गुरुयोजना तयार पारिने बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले आगामी छ महीनामा कर्णाली प्रदेशको विकासका लागि गुरुयोजना तयार पारिने बताउनुभयो ।
उहाँले सडक, बिजुलीलगायतका क्षेत्रमा ध्यान दिएको र एकीकृत बस्ती विकास कार्यक्रम अघि बढाउन लागिएको जानकारी दिनुभयो ।
मुख्यमन्त्री शाहीले सङ्घले प्रदेश र स्थानीय तहका सरकारलाई समन्वय गरेर काम गर्न नसकेको धारणा राख्नुभयो । “सङ्घ, प्रदेश र स्थानीय तह सरकारबीच समन्वय हुन नसकेर काममा विवाद भएको छ”, उहाँले भन्नुभयो, “सङ्घले प्रदेश र स्थानीय तहलाई समन्वय गर्न अगाडि बढ्नुपर्ने छ ।”
मुख्यमन्त्री शाहीले सङ्घीय सरकारले कर्णाली प्रदेशलाई कस्तोरुपमा सम्बोधन गर्दछ भन्ने कुरा आज घोषणा गरिने नीति तथा कार्यक्रमबाट थाहा हुने जानकारी गराउनुभयो ।
उहाँले कर्णाली प्रदेश न्यायको खोजीमा रहेको भन्दै मानव विकासको सूचाङ्कलाई आधार बनाएर बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । पहिलो वर्ष कानून निर्माण गर्नुपर्ने भएकाले बजेट कार्यान्वयनको सवालमा भने आफूहरुले लक्ष्य नभेटेको उहाँको भनाइ थियो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू