०३ माघ २०८१

मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक

८ बैशाख २०७६, आईतवार ११:४५ मा प्रकाशित

सुर्खेत, ८ वैशाख ,, मुलुकमा दिनहुँ बढ्दै गएको मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक रहेको औँल्याइएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लालीगुराँस युवा क्लबद्वारा शनिबार आयोजित ‘मानव बेचबिखन विरुद्व’ एकदिने अन्तरक्रिया कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बढ्दो मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक रहेको बताउनुभयो ।

“मानव बेचबिखन धेरै प्रकारले हुने गर्छ”, उपप्रमुख ढकालले भन्नुभयो, “यसको अन्त्यका लागि सुक्ष्म अध्ययन अनुसन्धान गरौँ ।” मानव बेचबिखनका साथै समाजमा घट्ने लैङ्गिक हिंसाका घटना किनारा लगाउन राज्यसँगै नागरिक तहबाट पनि लाग्नुपर्नेमा उहाँको जोड थियो ।

शक्ति समूह नेपालका कार्यकारी निर्देशक सुनिता दनुवारले समाजको कमजोर र निर्दोष वर्ग मानव बेचबिखनको सिकार हुने गरेको बताउनुभयो । पछिल्लो समयमा मानव बेचबिखनको रुप परिवर्तन भएको बताउँदै निर्देशक दनुवारले भन्नुभयो, “सूचना र प्रविधिले निम्त्याएको विकृतिबाट पनि हामी सबै सचेत हुन जरुरी छ ।”
वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतका वडाध्यक्ष लोकप्रसाद चालिसेले रहरमा शहर पस्ने प्रलोभनका कारण मानव बेचबिखनको सिकार भएको तर्क गर्नुभयो । यद्यपि यस्ता खालका जटिल समस्याको समाधानमा स्थानीय, प्रदेश र सङ्घीय सरकार गम्भीर हुनुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रमका सहभागीले मानव बेचबिखनको समस्याको अन्त्यका लागि सरकारी तथा गैरसरकारी निकाय, मानव अधिकारवादी सङ्घसंस्थाले प्रधान भूमिका खेल्नुका साथै सबै तहका सरकारले जनचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter