१९ माघ २०८१

कर्मचारीले छ महीनादेखि तलब पाएनन्

२८ चैत्र २०७५, बिहीबार १५:५७ मा प्रकाशित

हेटौँडा, २८ चैत ,, प्रदेश नं ३ अन्तर्गतका जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीले विगत छ महीनादेखि तलब सुविधा पाएका छैनन् ।

यस प्रदेशअन्तर्गतका १३ जिल्लाका कार्यालय प्रमुखसहित त्यहाँका कर्मचारीले तलब सुविधा नपाउँदा पारिवारिक खर्च गर्न समस्या परेको कर्मचारीको गुनासो छ । सङ्घीय सरकारले प्रदेश सरकारमा जनस्वास्थ्यका कर्मचारीलाई हस्तान्तरण गरेपछि प्रदेश सरकारले तलब सुविधा दिनुपर्ने व्यवस्था भए पनि उनीहरुले तलब छ महीनादेखि नपाएपछि आक्रोश व्यक्त गरेका हुन् । १३ जिल्लाकै जनस्वास्थ्यका कर्मचारीले ३ नं प्रदेशका मुख्यमन्त्री, सामाजिक विकासमन्त्री तथा कोष तथा लेखा नियन्त्रकको कार्यालयमा पुगेर तलब सुविधा माग गरे पनि कुनै सुनवाइ नभएको कर्मचारीले बताएका छन् ।

जनस्वास्थ्य कार्यालय हेटौँडाका प्रमुख शशीकान्त सिंहले सम्बन्धित निकायमा पटकपटक जानकारी गराउँदा पनि कर्मचारीले तलब नपाएको बताउनुभयो । यसैबीच प्रदेश नं ३ का ३६८ वटा वडामा स्वास्थ्य संस्था नरहेको बताइएको छ । प्रदेशमा जम्मा एक हजार १२२ वटा वडामध्ये ७५४ वटा वडामा मात्रै स्वास्थ्य संस्था रहेको छ । साथै स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिला पनि ७१ प्रतिशत मात्रै रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय हेटौँडाका अनुसार स्वास्थ्य बीमा कार्यक्रम पाँच जिल्लामा लागू भएको छ । ती जिल्लामा १५ लाख ४९ हजार जनसङ्ख्या रहेकोमध्ये २१ प्रतिशतले मात्रै स्वास्थ्य बीमा गराएको सो निर्देशनालयले जनाएको छ ।

विद्यार्थीको आन्दोलन संयुक्त विद्यार्थी मकवानपुरले सार्वजनिक सवारीमा विद्यार्थीलाई भाडामा छुट दिन दबाबस्वरुप आज आन्दोलन गरेको छ । हेटौँडाभन्दा बाहिरबाट पढ्न आउने विद्यार्थीलाई सवारीमा पूरा भाडा माग्ने तथा विद्यार्थीले पूरा भाडा दिन्न भन्दा सवारीमा नै नचढाउने गरेकाले विद्यार्थीले भाडामा छुट हुनुपर्ने माग राख्दै सिठ्ठी आन्दोलन तथा सडक बहस कार्यक्रम गरेको मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थी नेता रामकृष्ण सिवाकोटीले बताउनुभयो ।

भाडामा ४५ प्रतिशत छुट हुनुपर्नेमा आफूहरुको माग रहेको र माग पूरा नहुञ्जेलसम्म सार्वजनिक सवारीविरुद्ध निरन्तर सङ्घर्ष गर्न विद्यार्थी तयार रहेको सोही क्याम्पसका अर्का नेता विशाल पौडेलले जानकारी दिनुभयो । सार्वजनिक सवारीले क्याम्पस आउने समयमा सवारी नै नरोक्ने यदि कसैले रोकेर ल्याए पनि पूरा भाडा मागेर हप्काउने गरेकाले आफूहरुलाई पढाइमा समेत असर परिरहेको विद्यार्थीको गुनासो रहेको छ । यस विषयमा सबै सरोकारवाला निकाय गम्भीर भई गुणस्तर शिक्षाका लागि सहज वातावरण तय गरिदिनसमेत विद्यार्थीले आह्वान गरेका छन् । –––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter