०३ माघ २०८१

सुप विश्वविद्यालय तीन महीनादेखि पदाधिकारीविहीन

२४ चैत्र २०७५, आईतवार ११:२८ मा प्रकाशित

कञ्चनपुर, २४ चैत ,, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय तीन महीनादेखि पदाधिकारीविहीन अवस्थामा रहेको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक भुषण श्रेष्ठ र रजिष्ट्रार प्राध्यापक डा द्विजराज भट्टलाई पदमा रहेर काम नगर्न कुलपतिले पत्र पठाएपछि विश्वविद्यालय पदाधिकारीविहीन बनेको हो । पदीय मर्यादाविपरीत काम गरेको भन्दै गत पुस २६ गते कुलपतिको कार्यालयबाट उपकुलपति र रजिष्ट्रारलाई पदमा रहेर काम नगर्न उल्लेख गर्दै पत्र पठाइएको थियो ।

तीन महीना भइसक्दासमेत सरकारले निणय गर्न नसक्दा विश्वविद्यालय पदाधिकारीविहीन अवस्थामा पुगेको विश्वविद्यालयका प्रवक्ता तथा सूचना प्रमुख गोविन्दबल्लभ पन्तले बताउनुभयो । उपकुलपति श्रेष्ठ र रजिष्ट्रार भट्ट विश्वविद्यालयमा नियुक्ति पाएदेखि नै कार्यस्थल केन्द्रीय कार्यालय महेन्द्रनगरमा नबसी काठमाडौँमा बसेर तलब बुझ्ने गरेको, इमान्दारीपूर्वक काम नगरेको, पद अनुकूलको आचारण नगरेको, तालीम र भ्रमणभत्ताकै नाममा विश्वविद्यालयको बजेट मनपरी लिने गरेको भन्दै विवादमा परेका थिए । विवादमा आएपछि सरकारले गत पुसमा दुबैलाई पदमा रहेर काम नगर्न भन्दै पत्र पठाएको हो ।

गत माघ २० गते आएको छानबिन टोलीले उपकुलपति र रजिष्ट्रारका काम कारवाहीका बारेमा छानबिन गरेर माघ २६ गते उक्त छानबिनको प्रतिवेदन सरकारलार्ई बुझाएको थियो । छानबिनको प्रतिवेदन अध्ययनपछि उपकुलपति र रजिष्ट्रारको कामकारवाहीको निर्णय गर्ने भनिए पनि हालसम्म सरकारले उपकुलपति र रजिष्ट्रारको टुङ्गो लगाउन सकेको छैन । सरकारले निर्णय नगर्दा उपकुलपति र रजिष्ट्रारबाट सम्पादन हुने कामलगायत विश्वविद्यालयको सम्पूर्ण आर्थिक गतिविधि प्रभावित भइरहेको पन्तले बताउनुभयो ।

यसैगरी, गत माघ २३ गते परीक्षा नियन्त्रक भाष्करदत्त जोशीको तीनवर्षे कार्यकाल पूरा भएपछि हाल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय पनि नेतृत्वविहीन अवस्थामा छ । सरकारले उपकुलपति र रजिष्ट्रारलाई नै पदमा नराखेपछि उहाँहरुकै सहमतिमा नियुक्त हुने परीक्षा नियन्त्रक पनि हालसम्म नियुक्त हुननसकेको पन्तले बताउनुभयो । परीक्षा नियन्त्रण कार्यालय सहपरीक्षा नियन्त्रकको भरमा सञ्चालनमा छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter