भरतपुर, २२ चैत ,, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता स्व जागृतप्रसाद भेटवाल (जेपी) को स्मृतिमा चितवनमा उद्यान निर्माण गरिने भएको छ । प्रदेश नं ३ सरकारको आर्थिक सहयोगमा राप्ती नगरपालिका–६ मा जेपी उद्यान निर्माण गर्न लागिएको हो ।
उद्यानको बिहीबार नेपाल कम्युनस्टि पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले शिलान्यास गर्नुभयो । ढुंग्रेखोला नजिकै रहेको करीब छ कठ्ठा जग्गामा उद्यान निर्माण गर्न लागिएको नगरपालिका प्रमुख प्रभा बरालले जानकारी दिनुभयो । प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट उद्यान निर्माण गर्न लागिएको भन्दै उहाँले थप बजेट नगरपालिकाको तर्फबाट पनि विनियोजन गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार उद्यानमा भेटवालको सालिक, आकर्षक संरचना, फूलबारी, बालउद्यानलगायत रहनेछ ।
नगरपालिका–६ ले गत वर्ष विनियोजन गरेको बजेटबाट विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भइसकेको छ । एक वर्षभित्रै उद्यान निर्माण सम्पन्न हुने प्रमुख बरालले बताउनुभयो । पहिलो चरणमा रु ३० लाखको काम हुने भए पनि थप हुँदै जाने र आकर्षक उद्यानको रूपमा विस्तार गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो । पार्क निर्माणका लागि सन्तबहादुर चौधरीको अध्यक्षतामा निर्माण समिति गठनसमेत गरिएको छ । नेता भेटवालको २०७४ चैत २१ गते काठमाडौँको वीर अस्पतालमा क्यान्सरको उपचारका क्रममा निधन भएको थियो । उहाँ साविकको चितवन क्षेत्र नम्बर ३ बाट तीन पटक सांसद निर्वाचित हुनुभएको थियो । बाढी प्रभावित पूर्वी चितवनका नागरिकका लागि राप्ती नदीमा ड्याम निर्माण गरेर उहाँले बाढी प्रभावितलाई पुनःस्थापित गर्नुभएको थियो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू