११ माघ २०८१

रुस, भेनेजुएलाबीच २० वटा सम्झौताको तयारी

१३ चैत्र २०७५, बुधबार १६:२४ मा प्रकाशित

काराकास, १३ चैत ,,  रुस र भेनेजुएलाबीच ऊर्जा र शिक्षा समेतका विभिन्न क्षेत्रमा सहयोग सम्बन्धी २० वटा विषयमा सम्झौता हुन लागेको भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले बताउनुभएको छ ।

“अप्रिलमा रुस र भेनेजुएलाबीच अन्तरसरकारी सहयोग सम्बन्धी उच्चस्तरीय कार्यदलको बैठक बस्दैछ । बैठकले आर्थिक, व्यापारिक, सांस्कृतिक, ऊर्जा र शिक्षासम्बन्धी २० वटा दस्तावेजमा हस्ताक्षर हुनेछ,” रुसी समाचार समिति ताससँगको अन्तर्वार्तामा राष्ट्रपति मदुरोले बताउनुभयो ।

दुई वटा रुसी सैनिक विमान १०० सैनिकका साथ भेनेजुएलाको काराकास उत्रेको भोलिपल्टै राष्ट्रपति मदुरोको यस्तो भनाई सार्वजनिक भएको हो ।

राष्ट्रपति मदुरोले अमेरिकी नेतृत्वमा आएको भनिएको मानवीय सहायता “नक्कली” भन्दै रुसले वास्तविक मानवीय सहायता पठाएकामा रुसलाई धन्यवाद दिनुभयो । “दुई साताअघि कैयौं टन सहायता सामग्री रुसबाट आइपुग्यो । सहयोगको अर्को खेप पनि प्राप्त हुने आशा गरेका छौं, र हामीलाई सबैभन्दा बढी आवश्यकता औषधिको हो ।”

गत साता राष्ट्रपति मदुरोले रुसबाट औषधि प्राप्त हुने बताउनुभएको थियो । गत फेब्रुअरीमा कोलम्बियासँगको सीमामा अलपत्र परेको मानवीय सहायता सामग्री राष्ट्रपति मदुरोले रोकिदिनुभएको छ । उहाँले अर्को आदेश नभएसम्म ब्राजिलसँगको सीमा पनि बन्द गर्न आदेश दिनुभएको छ ।

गत जनवरीमा विपक्षी नेता हुँवा गुएइदोले आफूलाई मुलुकको आधिकारिक राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा आर्थिक तथा राजनीतिक सङ्कट उत्पन्न भएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter