रियाद, १२ चैत ,, गोलान हाइटस् इजरायलको सार्वभौमिक क्षेत्रमा पर्छ भन्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइको साउदी अरेबियाले विरोध गरेको छ ।
सोमबार साउदी अरेबियाले उक्त भनाइप्रति आपत्ति जनाउँदै अमेरिकी राष्ट्रपतिको यो घोषणाले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको पनि बताएको छ ।
सिरियाको प्रभुत्व रहेको गोलान हाइटस् इजरायलको हो भनी गरिएको अमेरिकी प्रशासनको निर्णयको साउदी अरेबियाले निन्दा समेत गरेको साउदी अरेबियाली समाचार समिति एसपिएले जनाएको छ ।
सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको समेत उपस्थितिमा ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पले गोलान हाइट्स इजरायलको भएको भन्दै हस्ताक्षर गर्नु भएको समाचार आएको थियो ।
सन् १९६७ मा छ दिनको संघर्ष गरी सिरियाली सो भूमि इजरायलले आफ्नो कब्जामा लिएको थियो । हाल उक्त भूभाग इजरायलकै कब्जामा रहेको छ ।
लामो समयदेखि नै अन्तरराष्ट्रिय चासोको विषय बनेको गोलान हाइट्स अमेरिकाले इजरायली भूमीका रुपमा मान्यता दिएको जनाएको छ । यसले भविष्यमा मध्य पूर्वको शान्ति प्रक्रिया र सुरक्षा स्थायित्वमा नकारात्मक प्रभाव पार्ने साउदी अरेबियाले जनाएको छ ।
ह्वाइट हाउसमा भएको यस कार्यक्रमपछि र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो देशको भलो चाहने व्यक्तिहरुमध्ये ट्रम्प पनि एक जना भएको बताउनु भएको थियो ।
गोलान हाइट्समा इजरायलको साभौमिकता स्वीकारको लागि लामो समयदेखि नेतान्याहु राष्ट्रपति ट्रम्पलाई पछ्याइ रहनुभएको थियो ।
इजरायली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच तर्कसङ्गत छलफल सोमबार हुने र मङ्गलबार दुई नेताले सँगै खाना खाने कार्यक्रम रहेको भएता पनि इजरायलको तेल अवीवको उत्तरमा पर्ने गाजा क्षेत्रमा रकेट प्रहार भएपछि नेतान्याहुले आफ्नो भ्रमण छोट्याएर स्वदेश फर्किनु भएको थियो ।
नेतान्याहु केही घण्टा मात्र अमेरिका रहनुभएको थियो । उहाँले राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्नुभएको थियो । गोलान हाइट्स इजारायलको भएको अमेरिकी राष्ट्रपतिको हस्ताक्षरपछि उहाँ स्वदेश फर्किनु भएको थियो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू