बुटवल, ११ चैत ,, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले चालू आर्थिक वर्ष २०७५÷०७६ को आठ महीनामा झण्डै ५० प्रतिशत भ्रष्टाचारका उजुरीको फछ्र्याैट गरेको छ ।
आयोगमा विभिन्न तहबाट आएका एक हजार एक वटा प्रारम्भिक उजुरीमध्ये चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ४९२ उजुरी फछ्र्याैट गर्न सफल भएको आयोगको बुटवल कार्यालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
आयोगमा आएका एक हजार एक प्रारम्भिक उजुरीमध्ये गत आवका बाँकी रहेका ३८५ उजुरी चालू आर्थिक वर्षमा जिम्मेवारी सरेर आएका र अन्य ६१६ भने यसै आवमा परेका हुन् । चालू आवको आठ महीनाको अवधिमा गरी ४९२ उजुरीको फछ्र्याैट भई बाँकी ५०९ उजुरी अनुसन्धानका क्रममा रहेको जानकारी गराइएको छ ।
आयोगको बुटवल कार्यालयको प्रदेश नं ५ का नौ र गण्डकी प्रदेशको एक पूर्वी नवलपरासीसमेत गरी १० जिल्ला कार्यक्षेत्र रहेको छ । आयोगमा प्रारम्भिक उजुरी आएकामध्ये आर्थिक वर्ष २०७४÷०७५ र चालू आर्थिक वर्षको आठ महीनाको अवधिमा सबैभन्दा बढी रुपन्देही जिल्लाबाट ३३८ उजुरीमध्ये १७७ को फछ्र्यौट भएको जनाइएको छ ।
आयोगको कार्यक्षेत्रको पूर्वी रुकुममा यही अवधिमा जम्मा सात वटा उजुरीमध्ये एउटा फछ्र्यौट भएको र अन्य छ वटा अनुसन्धानका क्रममा रहेको जनाइएको छ । कपिलवस्तुमा १९७, नवलपरासी पश्चिममा १७९, अर्घाखाँचीमा ७२, पाल्पा ५३, गुल्मी ४८, रोल्पा ३१ र प्यूठान १२ वटा उजुरी परेको छ । आयोगले प्रमुखरुपमा आठ जनाविरुद्ध छ वटा मुद्दाको तीन करोड २६ लाख ६८ हजार ३०५ को बिगोसहित मुद्दा चलाएकामा ९६ लाख दुई हजार ३१४ बिगो असुल गर्न सफल भएको कार्यालयका उपसचिव नारायण पाण्डेले जानकारी दिनुभयो ।
सो अवधिमा अख्तियारमा परेका उजुरीमध्ये सबैभन्दा बढी सङ्घीय सरकारअन्तर्गत सङ्घीय मामिला मन्त्रालयको ३५७ उजुरी परेकामा ५३ को फछ्र्यौट भएको छ । सो मन्त्रालयअन्तर्गत स्थानीय तहका भ्रष्टाचारसम्बन्धी उजुरी सबैभन्दा बढी छन् । फछ्र्यौट भएका ४९२ उजुरीमध्ये २८५ तामेलिमा राखिएको, १०० समान प्रकृतिका उजुरी एकीकरण गरिएको, ४७ उजुरीमा सम्बन्धित निकायलाई सुझाव तथा निर्देशन दिइएको, २६ उजुरीको विस्तृत अनुसन्धान भइरहेको र ३४ उजुरीको फाइल आयोगको केन्द्रीय कार्यालय तथा अन्य निकायमा पठाइएको छ ।
आयोगका अनुसार सो अवधिमा विभिन्न निकायका छ कर्मचारी रु ९६ लाखभन्दा बढी नगद रकमसहित रङ्गे हात पक्राउ परेका थिए । उनीहरुका सहयोगीसहित नौ जनालाई विशेष अदालतमा मुद्दा दायर भइसकेको र प्रतिवादी निलम्बनमा रहेको जानकारी गराइएको छ ।
यसमध्ये सबैभन्दा ठूलो रकमसहित शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रुपन्देहीका डिभिजन प्रमुख सुरेश ठाकुर र उहाँका पत्नीलाई साउन १२ गते रु ३६ लाख ७२ हजार ५०० सहित रङ्गेहात पक्राउ परी अनुसन्धान गरी विशेष अदालतमा मुद्दा दायर भएको लगायतका मुद्दा रहेको कार्यक्रममा जानकारी दिइयो ।
आयोगको बुटवलका कार्यालय प्रमुख तारानाथ अधिकारीले स्थानीयस्तरमा भएका भ्रष्टाचारका कतिपय मुद्दामा अनुसन्धान गरेर केन्द्रमा पठाउने गरिएको बताउनुभयो । उहाँले सीमित साधन स्रोतबाट पनि भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिअनुरुप अख्तियारले काम अघि बढाइरहेको जानकारी दिनुभयो । (तस्बीर उपलब्ध छ)
–––
तपाईंको प्रतिकृयाहरू