लमही, ४ चैत ,, दाङको दुई गाउँपालिकाको सीमामा उत्खनन विवाद छलफलबाट टुङ्ग्याइएको छ । राप्ती गाउँपालिकाले राप्ती नदीमा नदीजन्य पदार्थ उत्खनन गर्न गरेको ठेक्का आह्वान गरेको क्षेत्र गढवा गाउँपालिकाले आफ्नो क्षेत्रमा पर्ने भनेपछि विवाद सिर्जना भएको थियो ।
आइतबार आयोजित बैठकमा भएको सहमतिअनुसार राप्ती गाउँपालिकाले उक्त नदीको चार स्थानमा वातावरणीय प्रभाव मूल्याङ्कन गरेकामा खुरुरिया, भानपुर र बगरापुरमा बोलपत्रमार्फत् नदीजन्य वस्तु उत्खनन गर्न पाउने भएको छ । यस्तै मझेरीया घाटमा गढवा गाउँपालिकाले उत्खनन गर्न पाउने भएको छ ।
जिल्ला समन्वय समितिका सभापति जीतेन्द्रमान नेपालीको अध्यक्षता तथा प्रदेशसभा सदस्य इन्द्रजित थारू, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलगायतको सहभागितामा भएको छलफलले उक्त सहमति गरेको हो ।
राप्ती नदीको सीमा विवादलाई दीर्घकालीन रुपमा समाधान गर्न नदीको मध्य भागलाई आधार मानेर नीतिगत रुपमा समाधान खोजिनुपर्ने प्रदेशसभा सदस्य इन्द्रजित थारूले बताउनुभयो । “सातसय २१ मिटर राप्ती नदीको क्षेत्र हो भने यसको आधा–आधा मानेर प्राकृतिक स्रोतको बाँडफाँट गरिने गरी अघि बढ्दा सजिलो हुन्छ”, उहाँले भन्नुभयो, “दीर्घकालीन समाधानका लागि यस प्रकारको नीति बनाउन जरुरी छ ।”
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू