चितवन, ३ चैत ,, विदेशबाट गाई झिकाउन उपयुक्त नहुने विज्ञले सुझाव दिएका छन् । सरकारले चीनबाट गाई ल्याउने तयारी गरिरहेका बेला गाईको नश्ल सुधार गरी धेरै दूध उत्पादन गर्न क्रियाशील विज्ञले गाईको सट्टामा भ्रुण ल्याउनुपर्ने बताएका हुन् ।
गाईको तुलनामा निकै सस्तो, सजिलो र वातावरणमा घुलमिल गराउनसमेत सहज हुने भएकाले भ्रुण वा विर्य ल्याएर यहीँको गाईलाई प्रत्यारोपण गर्नुपर्ने उनीहरुको सुझाव छ ।
राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा माधवप्रसाद आचार्यले सम्भवत सरकारले स्वदेशमै भ्रुण उत्पादनमा जोड दिनुपर्छ भन्नुयो । गाईभन्दा भ्रुण विदेशबाट ल्याउँदा राम्रो हुने धारणा उहाँको छ । गाई बाहिरबाट ल्याउनु नश्ल सुधारको प्रविधि नभएको बताउँदै प्रमुख डा आचार्यले अहिले नेपालमा बाहिरबाट गाई ल्याउनुपर्ने अवस्था नरहेको भन्नुभयो । बाहिरबाट ल्याउने गाईको उत्पादन र आहार व्यवस्थापन के कस्तो छ ? त्यस्ता गाईका लागि आवश्यक पर्ने हावापानी यहाँ छ कि छैन ? यी सबै कुरा यहाँका विज्ञलाई थाहा नभएकाले गाई ल्याउँदा जोखिम हुन सक्ने उहाँले बताउनुभयो ।
नेपालमा नै नश्ल सुधार गरेर उत्पादन बढाउन सकिने आचार्यको भनाइ छ । उहाँले भन्नुभयो, “बाहिरबाट गाई ल्याउने नै हो भने पहिलो चरणमा सरकारी फारममा राखेर दुई वर्ष हेर्न जरुरत छ ।” गाईले यहाँको वातावरणमा घुलमिल गर्न सक्छ या सक्दैन अनुसन्धान गरेर मात्र कृषक तहमा ल्याउनुपर्ने हुन्छ । आचार्यले जस्ता गाई ल्याउन खोजिएको छ, त्यस्तै गाई यही उत्पादन गर्न सकिने भएकाले ल्याउनुभन्दा यही काम गर्न लगाउनु उपयुक्त हुने पनि बताउनुभयो ।
राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका वरिष्ठ पशु विकास अधिकृत शिवनाथ महतोले बाहिरबाट गाई ल्याउनु दीर्घकालीन हुन नसक्ने बताउनुभयो । नेपालकै गाई छनोट गरी थोरैमात्रामा स्थानीय गुण र बाँकी उन्नत गुण समायोजन गरेर राम्रो गाई उत्पादन गर्न सकिने उहाँ बताउनुहुन्छ । यसो गर्दा स्थानीय हावापानीमा गाई बस्नसक्ने र राम्रो उत्पादन लिन सकिने उहाँले बताउनुभयो । बाहिरबाट ल्याएका गाईले तत्काल धेरै दूध दिने अपेक्षा गरिए पनि यहाँको हावापानीमा बस्न सक्छ वा सक्दैन थाहा हुन नसक्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय गाईमा नै राम्रो नश्लको भ्रुण प्रयोग गरेर भोलिका दिनमा राम्रो गाई उत्पादन गर्नु नै महत्वपूर्ण र दीर्घकालीन हुन्छ ।” उहाँले सरकारले भ्रुण उत्पादनमा लगानी गरेमा नेपालका विज्ञ र वैज्ञानिकले यही भ्रुण उत्पादन गरेर राम्रा गाई निकाल्न सक्ने पनि बताउनुभयो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका जैविक प्रविधि केन्द्र निर्देशक डा ईश्वरीप्रसाद कडरिया गाई किन्ने पैसाले धेरै भ्रुण वा विर्य ल्याएर ठूलो सङ्ख्यामा गाई उत्पादन गर्न सकिने बताउनुहुन्छ । गाई ल्याउँदा तत्काल उत्पादन आउने अपेक्षा गरिएको भए पनि यहाँ घुलमिल हुन सकेन भने ठूलो नोक्सान हुने भन्दै उहाँले विज्ञ र वैज्ञानिकसँग परामर्श गरेर मात्र काम गर्नुपर्ने बताउनुहुन्छ । भ्रुण ल्याएर यहाँको गाईमा राख्दा आमा बन्ने गाईको भूमिका धाई आमाको जस्तो मात्र हुने भएकाले त्यसबाट जन्मिएको बच्चा बाहिरबाट ल्याउने गाईभन्दा कम नहुने कडरीयाको भनाइ छ । यस काममा नेपालका विज्ञ र वैज्ञानिक सफल भइसकेका छन् । कडरीयाले आफूले चीनमा विद्यावारीधि गर्दा भ्रुण उत्पादनमा काम गरेको बताउनुभयो ।
–––
तपाईंको प्रतिकृयाहरू