काठमाडौँ, २३ फागुन ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको निधनमा श्रद्धाञ्जलि व्यक्त गरेको छ ।
पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा पण्डितले नुवाकोट जिल्लामा कम्युनिष्ट आन्दोलन विस्तारका लागि निर्वाह गर्नुभएको भूमिकाको स्मरण गर्दै शोकाकूल परिवारजन र आफन्तप्रति समवेदना प्रकट गरिएको छ ।
विसं २०४८ को आमनिर्वाचमा नुवाकोट–२ बाट नेकपा (एमाले) का उम्मेदवारका रुपमा प्रतिनिधिसभा सदस्य निर्वाचित पण्डित असल शिक्षक र कुशल सङ्गठनकर्ताको रुपमा परिचित रहेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “उहाँको निधनबाट कम्युनिष्ट आन्दोलनले एक समर्पित नेता गुमाएको छ ।”
यसैबीच पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले आज जारी गर्नुभएको विज्ञप्तिमा पनि निष्ठावान् नेता पण्डितको निधनले आफ्नो संस्था मर्माहित भएको जनाइएको छ ।
नुवाकोट जिल्लाको शिखरबेसी–६ मा विसं २००३ साउन ३२ गते बुबा सूर्यबहादुर र आमा मानकुमारीबाट जन्मिनुभएका पण्डितको गत मङ्गलबार ७२ वर्षको उमेरमा निधन भएको थियो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू