खोटाङ, २० फागुन ,, त्रिधार्मिकस्थल खोटाङको हलेसीमा पूजाआजा गर्ने र मेला भर्नेको बाक्लो भीड लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको त्रिवेणीस्थल हलेसीमा शिवरात्रिका अवसरमा लाग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीको बिहानैदेखि भीड लागेको हो ।
मेलामा नेपाललगायत छिमेकी राष्ट्र भारत, चीन, भूटान, बङ्गलादेश, कोरियालगायत मुलुकका हजारौँ दर्शनार्थीको उपस्थिति रहेको छ । उदयपुर र खोटाङको सिमानामा पर्ने हर्कपुरस्थित सुनकोशी तथा खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोशी नदीमा पक्की पुल सञ्चालनमा आएपछि हलेसी आउने दर्शनार्थीको सङ्ख्या दोब्बर वृद्धि भएको हो ।
पुल सञ्चालनमा आएसँगै राजधानी काठमाडौँ तथा तराईसँग सिधा यातायात जोडिएपछि काठमाडौँ, धरान, विराटनगर, जनकपुरधाम, इलाम, रौतहट, पोखरालगायत छिमेकी देश भारतका दर्शनार्थी गाडी रिजर्भ गरेर आउने गरेका छन् । धार्मिक तथा सांस्कृतिकरूपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ ।
महादेवगुफा, धर्मद्वार, पापद्वार, बसाहागुफा, भैरवगुफा, दुङ्देलोगुफालगायत धार्मिक तथा पर्यटकीयस्थल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थी आउने गरेका हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले बताउनुभयो । हप्तादिनसम्म लाग्ने शिवरात्रि मेलालाई व्यवस्थित बनाउन सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ ।
हलेसीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, हरितालिका तीजजस्ता पर्वमा ठूलो मेला लाग्ने गर्दछ । हलेसी आवत–जावत गर्न यातायातको सुविधा तथा बास बस्नका लागि होटल पर्याप्त मात्रामा खुलेपछि अन्य समयमा पनि उत्तिकै मात्रामा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ ।
–––
तपाईंको प्रतिकृयाहरू