काठमाडौँ, १० फागुन ,, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद दुर्गाबहादुर राउतले गुठी जमीनमाथिको द्वैध स्वामित्व अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले गुठी जमीनलाई रैकरमा लैजाने प्रक्रियालाई वैधानिकता प्रदान नगरेसम्म किसानलाई सधैँ मर्का पर्ने बताउनुभयो । विसं २०६४ माघ १० गते सर्वोच्च अदालतले गुठी जमीनलाई रैकरमा परिणत गर्न नमिल्ने फैसला गरेको थियो ।
सांसद नरबहादुर धामी, नारायणप्रसाद खतिवडा र पवित्रा निरौलाले कृषिमा राज्यको लगानी बढ्दै गए पनि उत्पादन वृद्धि हुन नसकेकाले वास्तविक किसानलाई अनुदान र कृषि कर्जामा सहुलियत प्रदान गर्न सरकारसँग माग गर्नुभयो ।
सांसद बालकृष्ण खाँण र डिला सङ्ग्रौलाले बेलायतले भूतपूर्व गोरखा सैनिकलाई सेवासुविधामा बिभेद गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । शून्य समयमा दिव्यमणि राज्यभण्डारी, दुर्गा पौडेल, देवप्रसाद गुरुङ, नरबहादुर धाँमी, नवराज राउत, प्रदीप यादव, प्रमिला राई, प्रेमबहादुर आले, प्रेम सुवाल र धर्मशीला चापागार्इंले पनि समसामायिक विषयमा धारणा व्यक्त गर्नुभएको थियो ।
–––
तपाईंको प्रतिकृयाहरू