काठमाडौँ, १० फागुन ,, अष्ट्रियाले नेपालका सांस्कृतिक सम्पदा संरक्षणमा आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।
नेपालको औपचारिक भ्रमणमा रहनुभएकी उक्त देशकी विदेशमन्त्री करिन कनिसलले नेपाल र अष्ट्रियाबीच आज अपराह्न राजधानीमा सम्पन्न प्रतिनिधिमण्डलस्तरीय वार्तापछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै त्यस्तो घोषणा गर्नुभएको हो । “सम्पदा संरक्षणका निम्ति नेपालीलाई प्रशिक्षणमा सघाउनका साथै तत्काल एकलाख २० हजार युरो ललितपुर दरबार क्षेत्रका सम्पदा जोगाउन उपलब्ध गराइनेछ,” रकम कम भएपनि त्यसबाट नेपालप्रतिको अष्ट्रियाको सद्भाव प्रतिबिम्बित हुने बताउँदै उहाँले भन्नुभयो ।
भूकम्पपछिको पुनःनिर्माण तथा भौतिक पूर्वाधार निर्माणमा पनि सघाउन आफ्नो मुलुक उत्सुक रहेको बताउँदै ऊर्जा उत्पादनका क्षेत्रमा लगानी तथा पर्यटन प्रवद्र्धनमा सघाउने अष्ट्रियाली चाहना पनि उहाँले सुनाउनुभयो ।
संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा नेपालले गरेको योगदानलाई अतुलनीय भन्दै नेपालसँगै अष्ट्रिया पनि बहुपक्षीयवादको प्रवद्र्धनमा विश्वस्त रहेको उहाँले बताउनुभयो ।
नेपाल सरकारका विकासका प्राथमिकता, ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणाई साकार तुल्याउने, संयुक्त राष्ट्रसङ्घमा अष्ट्रियासँग साझेदारी, आगामी चैतमा नेपालमा आयोजना हुने लगानी सम्मेलनमा अष्ट्रियाको सक्रिय सहभागिताका निम्ति आफूले अनुरोध गरेको पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभयो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू