गलेश्वर, १० फागुन ,, म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाँखानीमा रुखबाट खसेर घाइते भएका ३३ वर्षीय पोष्टबहादुर छन्त्याल (प्रविण) लाई गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीको सहयोगमा हेलिकोप्टरमार्फत पोखरा मणिपाल अस्पताल पु¥याई उपचार गरिएको छ ।
गाउँभन्दा माथिको जङ्गलमा गोठमा बस्दै आएका छन्त्याल गाईबस्तुलाई घाँस काट्न जाँदा बिहीबार रुखबाट खसेर सख्त घाइते भएको जानकारी पाएपछि अध्यक्ष भण्डारीले आफ्नै खर्चमा हेलिकोप्टर चार्टर गराएर उपचारका लागि पोखरा पठाउनुभएको रघुगङ्गा गाउँपालिका–६ का वडासदस्य टेकजित छन्त्यालले जानकारी दिनुभयो ।
सदस्य छन्त्यालका अनुसार घाइते प्रविणको अवस्था अत्यन्त गम्भीर भएको थाहा पाएपछि अध्यक्ष भण्डारीलाई खबर गरी उहाँकै आर्थिक सहयोगमा पोखरा लगिएको हो । अहिले घाइतेको अवस्थामा सुधार आएको बताइएको छ । अध्यक्ष भण्डारीले गाउँपालिकाकै बिकट ठाडाँखानीमा यस्तो अवस्था भएको खबर पाएलगत्तै उनको उपचारमा पाखापानी स्वास्थ्य चौकीका दुई कर्मचारीलाई घाइते भएको स्थानमा पु¥याएर प्राथमिक उपचार गर्न लगाई हेलिकोप्टरमार्फत पोखरा लगिएको र अहिले घाइतेको अवस्थामा सुधार आएको बताउनुभयो ।
खानेपानीका लागि ताकमबासीद्वारा श्रमदान
पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमका स्थानीयवासीले आफ्नै घरदैलोमा खानेपानी ल्याउन रु एक करोड ४८ लाख बराबरको जनश्रमदान गरेका छन् । गाउँघरमा सार्वजनिक धारा तथा कुवाको प्रयोग गर्दै आएका ताकमवासीले सरकारी अनुदानबाहेक जनश्रमदान गरेर कोठखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत घरदैलोमै खानेपानी ल्याउन सफल भएका हुन् ।
नेपाल र फिनल्याण्ड सरकार, धवलागिरि गाउँपालिकाको वडा कार्यालय र स्थानीय उपभोक्ताको आर्थिक तथा जनश्रमदानमा पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामा स्थानीयले आफ्नो घरायसी कामलाई समेत छोडेर गाउँबाट करीब तीन किलोमिटर टाढा अवस्थित कोठखोलाबाट खानेपानी ल्याउन फिनल्याण्ड सरकारबाट रु पाँच लाख ११ हजार, धवलागिरि गापा–७ बाट रु १६ लाख सात हजार, भारतीय दूतावासमार्फत रु ६५ लाख ६७ हजार बराबरको पाइपबाहेक अन्य खर्च स्थानीयवासीले गरेको उपभोक्ता समितिका कोषाध्यक्ष गोपाल आचार्यले जानकारी दिनुभयो ।
साविकको ताकम गाविस वडा नं ३, ४, ५ र ६ वडाका ३३६ घरधुरीमध्ये काफलडाँडाका २९ घरधुरीमा बालमैत्रीसहित २९ धारा जडान गरिएको छ ।
उन्नत बीउ र प्राङगारिक मलतर्फ किसान आकर्षित
व्यावसायिक कृषिमा लागेका म्याग्दीका किसानहरु बढी उत्पादन दिने उन्नत जातका बीउबिजन र आधुनिक प्रविधिको प्रयोगतर्फ आकर्षित भएका छन् । उन्नत जातको बीउ र आधुनिक प्रविधितर्फ आकर्षित भएका किसानहरुले मल भने प्राङगारिक नै रोजेका छन् ।
परम्परागत रैथाने बीउबिजन र प्रविधिमा आधारित स्थानीय उत्पादनले बजारमा प्रतिस्पद्र्धा गर्न नसक्ने र लागतको तुलनामा बढी उत्पादन नहुने भएकाले किसानहरू कृषि ज्ञान केन्द्रबाट सिफारिस गरिएका उन्नत जातका तरकारी, अन्नबाली र फलफूल खेतीतर्फ आकर्षित हुँदै आएका कृषि प्राविधिकहरुले बताएका छन् ।
खबराका अगुवा किसान चन्द्रबहादुर कार्की रैथाने बीउबिजन, परम्परागत खेती प्रणाली र घरेलु औजार तथा साधनबाट खेती गर्दा किसानको लगानी नै नउठ्ने भएपछि उन्नत जातको बीउ बिजन र प्रविधिप्रति आकर्षित भएको बताउनुहुन्छ ।
परम्परागत तरिकाले स्थानीय जातका तरकारी, अन्नबाली लगाएर बजारमा प्रतिस्पर्धा गर्न कठिन भएकाले स्थानीय जातको साटो उन्नत बीउबिजन र प्रविधितर्फ लाग्नुपरेको उहाँको भनाइ छ ।
‘मैले १७ रोपनी जग्गामा स्थानीय र उन्नत दुवै जातका तरकारी खेती गरेको छु, तर स्थानीयजातको तुलनामा उन्नत जातको बीउको तरिकारीबाट धेरै फाइदा हुने र बजारमा पनि सजिलैसंग विक्ने हुँदा उन्नत जात नै रोज्नुपर्ने बाध्यता रहेको छ’ कार्कीले भन्नुभयो ‘किसानको मेहनत र लगानीका तुलनामा स्थानीय जातको बीउबाट राम्रो उत्पादन लिन कठिन पर्छ ।’
त्यसैगरी मंगला गाउँपालिकाकी जानकी जैसी पनि उन्नत जातकै तरकारी खेतीतर्फ आकर्षित हुनुभएको छ । छोटो समयमा धेरै उत्पादन लिन सकिने र स्थानीयको तुलनामा फाइदा पनि दोब्बर हुनेहुँदा उन्नत जातको तरकारी नै लगाउने गरेको उहाँले बताउनुभयो ।
कार्की र जैसी मात्र होइन म्याग्दीका ६ ओटै स्थानीय तहका ३ सय भन्दा बढी व्यावसायिक कृषकहरुले स्थानीय जातका बीउ बिजन र प्रविधिलाई घटाउँदै उन्नत जात र आधुनिक प्रविधिलाई बढाउँदै लगेका छन् ।
उन्नत जातका बीउ बिजनतर्फ आकर्षित हुँदै गएका यहाँका किसानहरुले मलमा भने प्राङ्गारिक विधि अपनाउने गरेका छन् । रासायनिक मलका कारण माटोको उर्वराशक्तिमा ह्रास आउनुका साथै माटोको मौलिक गुणपनि हराउँदै जान थालेपछि किसानहरु सचेत बनेका हुन् ।
जिल्लाको मंगला गाउँपालिकाले त प्राङगारिक मल उद्योग नै संचालन गरेर किसानहरुलाई प्राङ्गारिक मलको प्रयोग गर्न अनवार्य गरेको छ । त्यसका साथै मानवमूत्र संकलन गरेर तरकारी,फलफूल र खाद्यान्न बालीमा प्रयोग गराउन मंगला गाउँपालिकाले अभियान नै संचालन गरेको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।
–––
तपाईंको प्रतिकृयाहरू