म्याग्दी, ९ फागुन ,, म्याग्दीको धौलागिरी गाउँपालिका–७ ताकममा निर्माण भएको कोतखोला तेस्रो खानेपानी तथा सरसफाइ आयोजनाबाट करीब ३५० घरधुरी लाभान्वित भएका छन् ।
पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत रु दुई करोड ६७ लाख ८८ हजार ५५५ को लागतमा निर्माण भएको आयोजनाबाट ताकम र काफलडाँडा गाउँका ३३६ घरधुरी लाभान्वित भएको उपभोक्ता समितिले जनाएको छ ।
आयोजनाका कोषाध्यक्ष गोपाल आचार्यका अनुसार पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाबाट ९५ लाख ११ हजार ३०२, तत्कालीन ताकम गाविस र धौलागिरी गाउँपालिकाबाट रु १६ लाख सात हजार ३१३ अनुदान तथा भारतीय राजदूतावासबाट रु ६५ लाख ६७ हजार ९१७ बराबरको निर्माण सामग्री सहयोग प्राप्त भएको थियो ।
समितिका कोषाध्यक्ष आचार्यका अनुसार रू एक करोड ४८ लाख २० हजार ७३५ बराबरको श्रमदान, उपभोक्ताबाट रू २५ लाख ४२ हजार ८१५ नगद सङ्कलन भएको थियो । रु सात लाख २९ हजार ४१४ भुक्तानी दिन बाँकी रहेको उपभोक्ता समितिले जनाएको छ ।
ताकमका ३०७ वटा घरमा निजी धारा र काफलडाडाँका २९ घरमा नौ वटा बालमैत्री सार्वजनिक धारामार्फत खानेपानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष देवबहादुर थापाले बताउनुभयो ।
कोतखोलामा मुहान रहेको आयोजनाको तीन किलोमिटर मुख्य र ३२ किलोमिटर शाखा वितरण लाइन रहेको छ । यसअघि सार्वजनिक धारा, पधेरा र कुँवाको पानी उपभोग गर्दै आएका ताकमवासीलाई घरघरमा जडान गरिएको निजी धारामा नियमित खानेपानी आपूर्ति भएपछि सुविधा पुगेको छ । प्रतियुनिट १० रुपैयाँका दरले महशुल निर्धारण गरिएको सचिव ऋषिराम सुवेदीले बताउनुभयो ।
–––
तपाईंको प्रतिकृयाहरू