दमौली, ८ फागुन ,, सरकारबाट १०० नयाँ गन्तव्यका रुपमा घोषणा भएको तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद शान्ति पार्कमा वनभोजस्थल निर्माण सम्पन्न भएको छ ।
पार्कलाई पर्यटकीय गन्तव्यका रुपमा विकसित गर्दै पर्यटक आकर्षित गर्ने उद्देश्यसहित पार्कले रु १६ लाखको लागतमा वनभोजस्थल निर्माण गरेको हो । पार्कका कोषाध्यक्ष एकबहादुर रानाले पार्कभित्र दुई वटा भवनसहित वनभोजस्थल निर्माण सम्पन्न गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार वनभोजमा आउने पर्यटकको सुविधाका लागि खानेपानीको व्यवस्थासमेत गरिएको छ भने शौचालयसमेत निर्माण गरिएको छ ।
“सरकारले १०० नयाँ गन्तव्यका रुपमा पार्कलाई घोषणा गरेपछि यसको प्रचारप्रसार हुनेमा आशावादी छौँ’, रानाले भन्नुभयो, “पर्यटकलाई आकर्षित गर्नका लागि पूर्वाधार निर्माण गरेका हौँ ।” रानाका अनुसार १६ घनमिटर क्षमताको ट्याङ्की निर्माण गरेर लिफ्ट प्रणालीमार्फत ट्याङ्कीमा पानी सङ्कलन गरी वितरणको व्यवस्था मिलाइएको छ ।
सदरमुकाम दमौलीबाट नजिकै डाँडामा रहेको सो स्थानसम्म पुग्नका लागि कच्ची बाटो समेत सुधार गरिएको छ । “वनभोज स्थलसम्म पुग्ने बाटो सुधार गरेका छौँ’, उहाँले भन्नुभयो, “सवारीसाधन सहजै पुग्ने भएकाले ढुवानी गर्नसमेत सहज छ ।”
पार्कमा वनभोज खानका लागि आन्तरिक पर्यटकको आवागमन शुरु भइसकेको बताइएको छ । केही दिन अघि मात्रै गोरखा जिल्लाबाट एक टोली वनभोजका लागि पार्कमा आएको थियो । वनभोजस्थल प्रयोग गरेबापत अहिले शुल्क निर्धारण नगरिएको भए पनि छिट्टै समितिको बैठक बसेर निश्चित शुल्क निर्धारण गरिने रानाले जानकारी दिनुभयो ।
सदरमुकाम दमौली बजारस्थित पूर्व र उत्तरमा व्यासमार्ग, पश्चिममा मादीनदी र दक्षिणमा दमौली बजारभित्र पर्ने बागभञ्ज्याङ सामुदायिक वनको करीब आठ हेक्टर क्षेत्रफलभित्र शहीद शान्ति पार्क रहेको छ ।
पार्कभित्र कलात्मक शैलीमा निर्माण गरिएको मन्दिरको ७५ प्रतिशत काम पूरा भएको छ । मन्दिरको सजावटको काम बाँकी रहेको छ भने गजुर र तामाको पाता राख्ने तयारी गरिएको छ । सो ठाउँबाट दमौली बजारलगायत आसपासका बस्ती, काहुँडाँडा, मानहुँडाँडा, तनहुँसुर, मिर्लुङकोट, गलेखामकोटलगायतका पर्यटकीयस्थल अवलोकन गर्न सकिने पार्कका अध्यक्ष मोतीकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पार्कको बृहत्तर विकासका लागि गुरुयोजनासमेत बनाइएको छ । गुरुयोजनाले पार्कलाई पाँच भागमा विभाजन गरी त्यसभित्र बन्ने संरचनालाई समावेश गरेको छ । जसअनुसार पहिलो भागमा प्रवेशद्वार, टिकट काउण्टर, पार्किङस्थल, शौचालय, प्रतिक्षालय निर्माण गरिनेछ ।
दोस्रो भागमा शहीद स्मारक पार्क, तेस्रो भागमा बालउद्यान, पानीको फोहोरा, सानो चिडियाघर, चौथो भागमा मन्दिर परिसर, दृश्यावलोकन स्तम्भ, शौचालय, विश्रामस्थल र पाँचौँ भागमा वनभोजस्थल, खानेपानी व्यवस्थापन, मनोरञ्जनस्थल निर्माण गरिनेछ । गुरुयोजनाअनुसार मन्दिरबाहेकको अन्य संरचना निर्माणमा करीब रु चार करोड ८५ लाख १५ हजार बजेट आवश्यक पर्ने पार्कले जनाएको छ ।
विकास योजना अघि बढाउँदै व्यास नगरपालिका
तनहुँको व्यास नगरपालिकाले विकासका योजनालाई प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाएको छ । चालू आर्थिक वर्ष २०७५÷०७६ मा नगरपालिकाले नगरक्षेत्रभित्र व्यास पराशर पार्क, मादी नदीमा कृत्रिम ताल, एकीकृत जग्गा विकास कार्यक्रम, सडक कालोपत्रेलगायतका योजना अगाडि बढाएको हो ।
स्रोत र साधनको सीमितता, राजश्व असुली एवं जनशक्ति व्यवस्थापनमा विद्यमान कानूनी असपष्टता तथा अन्य व्यवस्थापकीय समस्याका कारण विकास निर्माण प्रक्रिया सोचेअनुरुप अगाडि बढाउन नसकिए पनि केही दीर्घकालीन महत्वका योजना अगाडि सारिएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।
नगरपालिकाका अनुसार चालू आवका लागि विकास बजेटतर्फ विनियोजन गरिएको रु ४७ करोड ४९ लाख १९ हजार २०० मध्ये गत माघ २५ गतेसम्म रु १० करोड ७९ लाख ५६ हजार १०० खर्च भएको छ । नगर प्रमुख न्यौपानेले भन्नुभयो, “प्रथम चरणमा सामान्यतया वडास्तरीय आयोजना मात्र सञ्चालन गरिएको र अन्य मझौला तथा ठूला योजना सञ्चालनको लागि उपभोक्ता समितिसँग सम्झौता गर्ने तयारी भएको छ ।”
उहाँका अनुसार पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने पार्क निर्माण कार्यको लागि व्यास–३ स्थित अनशन चौतारी नजिक रहेको खुला चौरमा व्यास परासर पार्क निर्माणको लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ ।
पार्क निर्माणका लागि रु पाँच करोड अनुमान गरिए पनि विस्तृत अध्ययन गर्दा यसको लागत परिवर्तन हुनसक्नेछ । नगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको सहलगानीमा मादी नदीमा बहुउद्देश्यीय कृत्रिम ताल निर्माण गर्ने कार्यको लागि सम्भाव्यता अध्ययन गर्न कार्य अगाडि बढाएको छ ।
सोही ठाउँको नारेश्वर खोलाको पानी थुनेर बनाइने ताल २८ रोपनी क्षेत्रफलमा फैलिनेछ । व्यास नगरपालिका र स्थानीयवासीको लागत सहभागितामा निर्माण हुने तालको अनुमानित लागत रु ७८ लाख अनुमान गरिएको छ । ताल निर्माणका लागि व्यास नगरपालिकाले चालू आवमा रु २० लाख बजेट विनियोजन गरेको छ भने स्थानीयको जग्गालाई शेयरमा रुपान्तरण गर्ने योजना छ ।
नगरपालिकाले विश्व बैंकसँगको सघन शहरी विकास कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यक्रम सञ्चालनको लागि आवश्यक तयारी पूरा गरेको छ भने विद्युतीकरण, सडकबत्ती व्यवस्थापन, स्वरोजगार उन्मुख कार्यक्रम, खानेपानी सिँचाइ, कृषिजन्य कार्यक्रम क्रमिकरुपमा अघि बढाइएको जनाएको छ ।
नगरभित्रका सिन्धु मार्ग, केशवटार मार्ग, माहेन्द्री मार्ग, कलेस्ती गजौडे बिर्ता मार्ग, कालिका मार्ग, क्यामिन मार्गलगायतका मार्गलाई मूल मार्गको रुप स्तरीकरण गर्न प्राथमिकता राखिएको छ भने घरबास कार्यक्रम सञ्चालन गर्न उत्साहित गाउँलाई अनुदान दिने तयारी गरिएको छ ।
–––
तपाईंको प्रतिकृयाहरू