काठमाडौँ, ५ फागुन ,, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले न्यूरोड क्षेत्रलाई नमूना व्यापारिक केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
खिचापोखरी न्यूरोड व्यापार सङ्घको ‘छैटाँै अधिवेशन तथा ११ औँ वार्षिक साधारणसभा’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले न्यूरोडलाई नयाँ ढङ्गले अगाडि बढाउन जरुरी रहेको बताउनुभयो । “समृद्ध नेपाल निर्माणमा न्यूरोडका उद्योगी व्यवसायीको ठूलो भूमिका रहेको छ”, उहाँले भन्नुभयो ।
न्यूरोडलाई नमूना व्यापारिक केन्द्र निर्माणका लागि उद्योगी व्यवसायीहरु एकजुट हुनुपर्ने उहाँको भनाइ छ । “न्यूरोड देशको सम्पत्ति भएकाले यसलाई रक्षा गर्न यहाँकै उद्योगी व्यवसायी लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।
मन्त्री यादवले सरकारले जनतासँग गरेको वाचाअनुसार काम गर्न नसकेको बताउँदै आगामी दिनमा काम गरेर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले न्यूरोड ऐतिहासिक व्यापारिकस्थल भएकाले यस क्षेत्रको विकासका लागि महानगरपालिकाले योजना बनाएर अगाडि बढ्न लागेको बताउनुभयो । “व्यापारिक भवन निर्माणका लागि महानगरपालिका लागिरहेको छ”, उहाँले भन्नुभयो । फुटपाथ मुक्त शहर निर्माण गर्न महानगरपालिका लागेको उहाँको भनाइ थियो । महानगरपालिकाले न्यूरोड र दरबारमार्ग क्षेत्रमा ‘स्मार्ट पार्किङ’को रुपमा विकास गर्न बोलपत्र आह्वान गरिसकेको प्रमुख शाक्यले बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले मुलुकको व्यापार घाटा कम गर्न सरकारले आयातलाई कम गरी निर्यातलाई बढावा दिने वातावरण निर्माणमा लाग्नुपर्ने बताउनुभयो । “दैनिक व्यापार घाटा रु तीन अर्ब ७६ करोड भएकाले यसलाई घटाउन सरकार लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष नरेश कटुवालले सरकारले साना उद्योगी व्यवसायीको मर्कालाई बुझ्न नसकेको आरोप लगाउनुभयो । “भन्सारमा देखिएको समस्या, घरवहाल कर, बैंकको चर्को ब्याजदर लगायतका समस्या समाधानका लागि सरकार लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।
आन्तरिक राजश्व कार्यालय न्यूरोडका प्रमुख डा रामप्रसाद मैनालीले न्यूरोड क्षेत्रमा रहेको फुटपाथको व्यापारलाई पनि करको दायरामा ल्याउनुपर्ने उल्लेख गर्नुभयो । कर छल्ने जोकोही उद्योगी व्यवसायीलाई कारवाही गरिने उहाँको भनाइ थियो । खिचापोखरी युवा क्लबका अध्यक्ष राजेश डङ्गोलले धरहरा पुनःनिर्माण र पार्किङले खिचापोखरी क्षेत्रको उद्योग–व्यवसाय समस्यामा परेको बताउनुभयो ।
सङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठले भन्सार क्षेत्रमा देखिएको न्यून बिजकीकरणको अन्त्यका लागि सरकारलाई पहल गर्न आग्रह गर्नुभयो । विसं २०६३ मा स्थापना भएको सङ्घले साना व्यवसायीको हकहितमा काम गर्दै आइरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनलाई सम्मान गरिएको थियो । (तस्बिर समावेश छ)
–––
तपाईंको प्रतिकृयाहरू