चन्द्रौटा, ३ फागुन ,, : प्रदेश नं ५ सरकारको मुख्य योजना कृषिमा यान्त्रिकीकरण र पर्यटन क्षेत्रको विकासमा रहेको प्रदेश नं ५ का उपसभामुख कृष्णी थारूले बताउनुभएको छ ।
कपिलवस्तुको चन्द्रौटामा सम्पन्न युवा सम्मेलनमा कपिलवस्तु युवा घोषणापत्र बुझ्दै उपसभामुख थारूले प्रदेश नं ५ को मुख्य आयस्रोत कृषि र पर्यटन रहेकाले उत्पादन र बजारीकरणमा सरकारले विशेष ध्यान दिने बताउनुभयो । कपिलवस्तुका युवाले थारूलाई १६ बँुदे कपिलवस्तु घोषणापत्र हस्तान्तरण गरेका छन् ।
कपिलवस्तुको चन्द्रौटामा एक्सन एड नेपालको सहयोगमा विभिन्न नगरपालिका तथा गाउँपालिकाका युवाको गुनासो तथा समस्याका बारेमा गरिएको अध्ययनपछि युवा सम्मेलन गरी कपिलवस्तु घोषणपत्र हस्तान्तरण गरिएको हो । स्थानीय तहहरुमा प्रदान गरिने सेवा तथा रोजगारीका अवसरका बारेमा सूचना केन्द्रको स्थापना गर्नुपर्ने, युवा सहभागिता, युवा सवाल, समस्या तथा आवाज सुनुवाइ हुनुपर्नेजस्ता मागसहित घोषणापत्र जारी गरिएको थियो ।
उपसभामुख थारूले युवाहरुको घोषणापत्रले मार्गनिर्देशन गरेको बताउँदै युवाका समस्या समाधान गर्न स्थानीय तह, प्रदेश र सङ्घ तीनै तहको सरकारले योजना बनाएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो । घोषणापत्रमा रहेका कुरा लागू गर्न पहल गर्न तयार भएको थारूले बताउनुभयो ।
प्रदेशसभा सदस्य अर्जुन कसीले जातीय विभेदले समाजमा जरा गाडेकाले यसले युवालाई ठूलो असर पु¥याएको, युवा उत्पीडनमा परेकाले विभेद अन्त्यका लागि लाग्नुपर्ने बताउनुभयो ।
सडक छेउमा शौच गराउने सवारीलाई कारवाही
मुख्य राजमार्ग क्षेत्रमा सवारी साधनबाट बढी फोहर हुने गरेकाले प्रदेश नं ५ सरकारले नयाँ कानून ल्याउने तयारीमा रहेको भौतिक पूर्वाधार विकासमन्त्री एवं प्रवक्ता बैजनाथ चौधरीको बताउनुभयो । उहाँले सवारी साधन सडकमै रोकेर फोहर फाल्ने तथा दिसापिसाब गर्ने गरेकाले अब त्यसलाई कडाइ गरिने बताउनुभयो । सडकमा रहने हरेक पेट्रोलपम्पमा सफा सार्वजनिक शौचालय हुनुपर्ने नियममा समेत कडाइ गर्ने र नभएमा दर्ता नगरिने बताउनुभयो ।
प्रदेश स्थापना दिवसको अवसरमा विहीबार बर्दियादेखि नवलपरासीसम्म सडक क्षेत्रका बजारमा विभिन्न प्रदेश मन्त्रीको उपस्थितिमा सरसफाइ गरिएको चौधरीले जानकारी दिनुभयो । प्रदेश सरकारले सरकार गठनको एक वर्षमा सोचेजति काम गर्न नसकेको स्वीकार्दै कानून बनाउनुपर्ने बाध्यताले पनि केही कमी भएको र अन्य प्रदेशको तुलनामा काम भएको दावी गर्नुभयो ।
–––
तपाईंको प्रतिकृयाहरू