बेझाड, २१ माघ ,, शैक्षिक पर्यटनको विकास गर्न सीताराम माध्यमिक विद्यालय रामपुर नगरपालिका–४ मा ‘सीताराम मिनी सङ्ग्रहालय’ सञ्चालनमा आएको छ ।
गाउँघरमा चलनचल्तीमा आएका पुराना सामानलाई सदुपयोग गर्दै मिनी सङ्ग्रहालय सञ्चालन गरिएको हो । सो सङ्ग्रहालयले अहिले विद्यालयको शैक्षिक पर्यटन विकासमा ठूलो भूमिका खेलेको छ । पुराना सामान दैनिक चलनचल्तीमा आएका ठेकी, माना, पाथी, तरबार, भोटेताल्चा, स्याँखु, मदुसलगायतका काठ र माटोबाट बनेका सामान सङ्ग्रहालयमा राखिएको छ । यी सामान अहिले गाउँघरबाटै लोप भएर गइसकेको छ ।
सङ्ग्रहालयमा पुराना नेपाली तथा विदेशी मुलुकका सिक्का र शिलालेख गरी करीब ४०० जति सामग्री राखिएको छ । सङ्ग्रहालयमा रहेका यी सामग्रीले शिक्षणकार्यमा ठूलो सघाउ पुगेको छ । शैक्षिक पर्यटनको विकास गरी यस विद्यालयलाई शैक्षिक पर्यटन हब बनाउनका लागि सङ्ग्रहालय सञ्चालनमा ल्याइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर पोखरेलले बताउनुभयो ।
मिनी सङ्ग्रहालयको अवलोकनका निम्ति विभिन्न ठाउँका विद्यालयबाट शैक्षिक अवलोकन भ्रमणमा आउने गरेको प्रधानाध्यापक विश्वनाथ भट्टराईले बताउनुभयो । “प्रयोगात्मक शिक्षणका लागि सजिलो भएको छ”, उहाँले भन्नुभयो । पाठको विषयवस्तुअनुसार विद्यार्थीलाई सङ्ग्रहालयमै लगेर प्रत्यक्ष अवलोकन गराई शिक्षणकार्य गरिँदै आएको भट्टराईले बताउनुभयो । यसले पनि शिक्षणकार्यमा थप ऊर्जा प्रदान गरेको छ ।
रामपुर नगरपालिका–४ सदावर्तका समाजसेवी विष्णु आचार्यले २०६५ सालमा विद्यालयमा सङ्ग्रहालय निर्माणको अवधारणा ल्याउनुभएको हो । उहाँको अवधारणालाई विद्यालय परिवार, सामाजिक व्यक्ति, यहाँका सरोकारवाला निकायको साथ र सहयोगमा मिनी सङ्ग्रहालय निर्माण गरिएको विद्यालयका संरक्षक लुकबहादुर बीरकट्टाले बताउनुभयो । शिक्षक कर्मचारी, व्यवस्थापन समिति, विद्यार्थी, अभिभावकलगायत विभिन्न व्यक्तिको सहयोगमा गाउँघरमा लोपोन्मुख अवस्थामा रहेका सामान सङ्ग्रहालयमा सजाएर राखिएको छ । एउटा विद्यालयको मात्र नभई रामपुर नगरकै शैक्षिक विकासमा यस सङ्ग्रहालयले महत्वपूर्ण भूमिका खेल्ने रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत रमाकान्त अर्यालले बताउनुभयो । उहाँले यस सङ्ग्रहालयलाई विस्तार गर्न शिक्षा शाखाबाट पहल गर्ने बताउनुभयो ।
शिक्षकलाई कम्प्युटर तालीम
पाल्पाको रम्भा गाउँपालिकाकाले सामुदायिक विद्यालयका शिक्षकका लागि आधारभूत कम्प्युटर तालीम सञ्चालन गरेको छ । आइतबारदेखि शुरु भएको सो तालीममा कम्प्युटर हार्डवेयर तथा सफ्टवेयरसम्बन्धी आधारभूत सीप सिकाइने छ ।
तालीममा हुँगी, फोक्सिङकोट तथा पिपलडाँडाका २६ शिक्षक तथा प्रधानाध्यापक सहभागी छन् । गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुरज पाठक र स्रोतव्यक्ति विश्वराज ज्ञवालीले सहजीकरण गर्नुभएको छ । तीन दिनसम्म चल्ने तालीममा माइक्रोसफ्टवर्ड, पावरप्वान्ट, एक्सेल, प्रिजेन्टेशन, डकुमेन्ट प्रिन्ट, स्क्यानिङ, कम्प्युटर फरम्याटलगायतका विषयबारे सिकाइनेछ ।
समयसापेक्ष ज्ञान प्रदान गरी प्रविधिमूलक शिक्षा प्रदान गर्न तालीमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । यसअघि गाउँपालिकाले ताहुँ र हुमिनका शिक्षकलाई तालीम प्रदान गरेको थियो ।
–––
तपाईंको प्रतिकृयाहरू