गोरखा, १८ माघ ,, गोरखा जिल्लामा कृत्रिम गर्भाधान केन्द्रको स्थापना भएको छ ।
गोरखा नगरपालिका–११ स्थित बाह्रकिलोमा गण्डकी प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहने गरी आज केन्दको स्थापना गरिएको हो ।
जिल्लाभित्रका कृषककोे घरपालुवा पशुबस्तुमा कृत्रिम गर्भाधानका लागि सेवा प्रदान गर्न केन्द्रको स्थापना गरिएको मन्त्रालयका पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय निर्देशक डा मनबहादुर पुनले जानकारी दिनुभयो ।
“यो कार्यालयले तत्कालका लागि गोरखा नगरपालिकासहित आसपासका क्षेत्रमा सेवा पु¥याउने योजना छ”, उहाँले भन्नुभयो, “बिस्तारै गाउँपालिकासँग समन्वय गरेर यसले कार्यक्षेत्र बिस्तार गर्दै लैजान्छ ।”
सेवा केन्द्रले आजैदेखि सेवा शुरु गरेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाका प्रमुख बज्रकिशोर ठाकुरले जानकारी दिनुभयो । उहाँले कृषकले पटकपटक कृत्रिम गर्भाधानका केन्द्र स्थापनका लागि माग गरेकाले यहाँको आवश्यकतालाई मध्यनजर गरी कार्यालय शुरु गरिएको बताउनुभयो ।
“कृषकले जिल्लामा केन्द्र स्थापनाका लागि हामीसँग धेरैपटक कार्यालयमा आएरसमेत अनुरोध गर्नुभएको थियो”, कार्यालय प्रमुख ठाकुरले भन्नुभयो, “ढिलै भए पनि उहाँको मागको सम्बोधन भएको छ ।”
केन्द्र स्थानपना भएसँगै व्यावसायिकरुपमा गाई, भैँसी, बाख्रालगायतका पशुवस्तु पालन गर्ने कृषकलाई सजिलो भएको उहाँको भनाइ छ । “यो केन्द्रमा ल्याएर एउटा पशुबस्तुको कृत्रिम गर्भाधान गरेको रु २५ कृषकले शुल्क बुझाउनुपर्छ”, ठाकुरले भन्नुभयो, “ठूला पशुबस्तु केन्द्रमा ल्याउन नसकिने हुँदा घरमै पशुसेवा प्राविधिक लैजानुपर्ने अवस्थामा कृषकले दूरी हेरी थप शुल्क तिर्नुपर्ने हुन्छ ।”
त्यस्तै केन्द्रबाट घरपालुवा पशुवस्तुमा लाग्ने सबै खालका रोगको उपचारसमेत गरिने व्यवस्था रहेको कार्यालय प्रमुख ठाकुरले जानकारी दिनुभयो । केन्द्रमा तत्कालका लागि एक जना पशुसेवा प्राविधिकले सेवा प्रदान गर्ने उहाँले बताउनुभयो ।
एउटा मात्र केन्द्रले जिल्लाभरिका आवश्यकता पूरा गर्न नसक्ने भन्दै छिट्टै गाउँपालिकासँग समन्वय गरी तालीम दिएर सबै गाउँपालिकामा सेवा पु¥याउने उदेश्य रहेको उहाँलेको भनाइ छ । केन्द्रको एक कार्यक्रमका बीच गण्डकी प्रदेशका कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले उद्घाटन गर्नुभएको हो ।
–––
दीपक श्रेष्ठ
गीता
चितवनका सरकारी अस्पतालका बहिरङ्ग सेवा सञ्चालन
भरतपुर, १८ माघ (रासस) ः नेपाल चिकित्सक सङ्घले आजदेखि देशभरका अस्पतालको आकस्मिकबाहेकका सेवा ठप्प पार्ने घोषणा गरे पनि चितवनका अस्पतालमा सबै सेवा सञ्चालनमा आएको छ ।
भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बहिरङ्ग सेवा सञ्चालन गरिएको छ भने चिकित्सकले बिरामी जाँच गरेका छन् । भरतपुर र क्यान्सर अस्पतालमा बिरामीलाई प्रदान गरिने जुनसुकै सेवा नरोक्न अस्पताल प्रशासनले चिकित्सकलाई निर्देशन दिइएको छ ।
भरतपुर अस्पतालमा दर्जन बढी चिकित्सकले बहिरङ्ग सेवाका बिरामीको जाँच गरेका छन् । अधिकांश चिकित्सक भने ओपिडीमा बिरामी जाँच गर्न आएका छैनन् । चिकित्सक नआएका वार्डका बिरामीलाई आकस्मिक कक्षबाट पनि उपचार गरिरहेको अस्पतालले जनाएको छ ।
भरतपुर अस्पताल सञ्चालन समितिका अध्यक्ष खिमलाल भण्डारीले अस्पतालको सेवा बन्द नगर्न चिकित्सकलाई निर्देशन दिइएको भन्दै उपचार गर्न नआउने चिकित्सकलाई स्पष्टीकरण सोधिने बताउनुभयो । “अस्पतालमा हड्ताल निषेध छ”, उहाँले भन्नुभयो, “त्यसविपरीत प्रस्तुत हुने चिकित्सक तथा कर्मचारीलाई कारवाही गर्र्छाैं ।” भरतपुर अस्पतालका मेसु डा कृष्ण पौडेल भने आज बिदामा बस्नुभएको छ ।
भरतपुर अस्पतालमा बिरामीको उपचारमा गरिरहनुभएका मेडिसिन विभागका डाक्टर सुनिल पण्डितले आफ्नो नियमित डिउटीअनुसार बिरामीको जाँच गरिरहको बताउनुभयो । उहाँले अस्पतालले बिरामीको उपचार नरोक्नु भनेका कारण बिरामीको जाँच गरिरहेको जानकारी दिनुभयो ।
चिकित्सक सङ्घ चितवनका अध्यक्ष प्रकाश खतिवडाले चितवनका सबै अस्पताल आउने बिरामीलाई उपचार गरिरहेको बताउनुभयो । चिकित्सकले नियमित जाँच गरेको दाबी गर्दै उहाँले बहिरङ्ग सेवामा नआएका चिकित्सकलाई पनि आउनका लागि आग्रह गरिएको बताउनुभयो । “चिकित्सक सङ्घको आह्वानमा गरिएको एकदिने बन्द हो”, खतिवडाले भन्नुभयो, “एक दिनको सूचना भएकाले बिरामीलाई थाहा नहुन सक्छ, त्यसैले बिरामीको नियमित उपचार गरिरहेका छौँ ।”
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका निर्देशक डा विजयचन्द्र आचार्यले बहिरङ्ग सेवाको टिकट काटेर सेवा प्रवाहलाई निरन्तरता दिएको बताउनुभयो ।
“केही चिकित्सकले मात्र बिरामी जाँच्नुभएको छ”, आचार्यले भन्नुभयो, “अस्पतालका तर्फबाट बिरामीलाई असहज हुने वातावरण बन्न दिएका छैनौँ ।” अस्पतालको बहिरङ्ग सेवामा चिकित्सक नभेटेपछि कतिपय बिरामी आक्रोशित बनेका थिए । उनीहरुले बिरामीको उपचारमा नआएर चिकित्सकले गम्भीर लापरवाही गरेको बताए । अस्पतालको बहिरङ्ग सेवामा डाक्टरको पर्खाइमा रहनुभएकी पटिहानीकी वसुन्धरा लामिछाने बिरामीलाई उपचार नगरेर डाक्टरले गम्भीर लापरवाही गरेको बताउनुहुन्छ । भोलि आउनुहोस् भनेका थिए, बुढाबूढीलाई चिकित्सकले झुक्याए उहाँले भन्नुभयो ।
अनशनरत डा गोविन्द केसीको जीवनरक्षा माग गर्दै त्रिवि शिक्षण अस्पतालसहित देशभरका अस्पतालमा रिले अनशन बसिरहेको सङ्घले माग सुनुवाइ नभएको भन्दै सङ्घर्षको कार्यक्रम सार्वजनिक गरेको हो । (तस्बीर उपलब्ध छ)
–––
कृष्ण आचार्य
गीता
धर्मशालाको अस्तित्व हराउँदै
डडेल्धुरा, १८ माघ (रासस) ः डडेल्धुराका विभिन्न स्थानमा बटुवाले तराई, पहाड आवजावत गर्दा बाटोमा बास बस्नका लागि निर्माण गरिएको धर्मशालाको अस्तित्व मेटिँदै गइरहेको छ ।
पछिल्लो समयमा सडक विस्तारसँगै पैदलमार्गबाट आवतजावत बन्द भएपछि धर्मशाला जीर्ण बन्दै नष्ट भइरहेका छन् ।
कुनै समयमा डडेल्धुराका विभिन्न स्थानसँगै राजमार्ग छेउछाउमा देखिँदै आएका धर्मशाला अहिले हराउँदै गएका छन् । मानिसको फेरिँदो जनजीवनसँगै हराउँदै गएका धर्मशाला अस्तित्वसमेत खतरामा परेको धर्मशालाको इतिहाससमेत मेटिने खतरा बढेको ज्ञन्यापुधार– १ का अध्यक्ष चेतराम भट्टले बताउनुभयो ।
डडेल्धुरा बैतडी राजमार्गमै भने थुप्रै धर्मशाला थिए अहिले केही जीर्ण अवस्थामा रहेको देख्न सकिने अध्यक्ष भट्टले बताउनुभयो । बागबजारको पुरानो वाणिज्य बैंक अगाडि एउटा धर्मशाला अन्तिम पटकसम्म पनि थियो । तर अहिले नामोनिशानसमेत मेटिएको छ ।
त्यस्तै कीर्तिपुर बजार क्षेत्रको छेउमा पनि एउटा धर्मशाला रहेको थियो । “पोखरा बजार आइपुग्नुअगावै पनि धर्मशाला रहेको छ”, स्थानीय गगन भण्डारीले भन्नुभयो । तर हाल आएर धर्मशाला प्रयोगमा नआउँदा धेरै हराएका र केही अतिक्रमणको चपेटामा परेका स्थानीय बताउँछन् । ती धर्मशाला कसले बनाए त्यसको केही दस्तावेज नरहेको जिल्ला समन्वय समितिका संयोजक गणेशराज भट्टले बताउनुभयो । प्राचीन धरोहर र मान्यतालाई जीवन्त राख्न लेखाजोखा गर्नुपर्ने सयोजक भट्टको भनाइ छ ।
पछिल्लो समयमा बढ्दो शहरीकरण र सडक निर्माणका कारण धर्मशालाको प्रयोगमा कमी आएका कारण नै अस्तित्व सकिएको जानकार बताउँछन् । खासगरी १० वर्षे सशस्त्र द्वन्द्वकालीन समयदेखि धर्मशालाको प्रयोगमा कमी आएको देखिन्छ । तराई पहाड गर्दा बाटोमा बटुवालाई राति बास बस्नका लागि ढुङ्गाले मात्रै निर्माण गरिएका कलात्मक धर्मशाला जिल्लाका विभिन्न स्थानमा रहेका भए पनि पछिल्लो समयमा हराउँदै गएका पर्शुराम नगरपालिकाका समाजसेवी कैलाश पाण्डेयले बताउनुभयो ।
धर्मशालाको निर्माण कुनै सार्वजनिक जग्गा वा गुठी क्षेत्रमा भएको देखिन्छ । तत्कालीन शासकभन्दा पनि धार्मिक व्यक्तित्वबाट धर्मशाला बन्ने गरेको बुढापाकाको भनाइ छ ।
त्यो समयमा पैदलमार्गमा आवासका लागि कुनै व्यावसायिक होटल र बास बस्ने घर नहँुदा धार्मिक आस्था बोकेका मानिस बटुवाका लागि धर्मशाला निर्माण गर्ने जानकारको भनाइ छ ।
गाडी र सडकबाटोको सुविधा नहँुदा सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रबाट तराई क्षेत्रमा पैदल जाने मानिस धर्मशालाको प्रयोग गर्ने गरेको स्मरण भागेश्वरका गणेशराज भट्टले बताउनुभयो ।
यस समुदायका मानिस मङ्सिरको अन्त्यतिरदेखि उच्च पहाडी क्षेत्रलाई छोड्दै पहाडी क्षेत्रमा भेडासँगै झर्ने बेला धर्मशालाको प्रयोग गर्ने गन्यापधुरा गाउँपालिका अध्यक्ष नवल मल्लले बताउनुभयो । गन्यापधुराको ताललेकमा रहेको धर्मशालाको प्रयोग पछिल्लो समयमा गोठालो जाने र भेडाबाख्रा चराउन आउने मानिसले प्रयोग गरी रहेका गाउँपालिका अध्यक्ष मल्लले जनाउनुभयो ।
यसरी भोट र पहाडको सम्बन्धलाई आतिथ्य सत्कारमा जोड्ने धर्मघर प्रयोगविहीन हँुदै विलिन हँुदै गइरहेका छन् । विभिन्न स्थानमा भएका धर्मशालालाई संरक्षण मात्र गर्ने हो भने प्रातत्विक धरहराका रुपमा जगेर्ना गरी पर्यटकीय आकर्षणको केन्द्र्र र सङ्ग्रहालय बनाउन सकिने स्थानीय बताउँछन् ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू